पिस कोरको विश्वव्यापी कार्यसञ्चालनसम्बन्धी कार्यालयका सह-निर्देशक स्कट बिइल यस क्षेत्रको भ्रमणको सिलसिलामा आज दुई दिने बसाइका लागि नेपाल आइपुग्नुभएको छ । काठमाडौँ बसाइका क्रममा सह-निर्देशक बिइलले सरकार र नागरिक समाजका प्रतिनिधिहरूसँग भेटी पिस कोरका स्वयंसेवकहरूलाई नेपाल फर्काउने योजनाका बारेमा छलफल गर्नुहुनेछ । कोभिड-१९ महामारीका कारण सन् २०२० को मार्च महिनामा स्वयंसेवकहरूको विश्वव्यापी निष्क्रमण भएकोमा उनीहरूलाई सन् २०२३ को सुरुताका फिर्ता ल्याउने पिस कोरको योजना रहेको छ । पिस कोरले नेपालमा पहिलो पटक सन् १९६२ को सेप्टेम्बर महिनामा आफ्नो कार्यसञ्चालन आरम्भ गरेको थियो र त्यसयता झन्डै ४ हजार अमेरिकीहरूले नेपालमा बहुमुखी क्षेत्रमा र देशभरि काम गर्दै सेवा पुर्याएका छन् । विश्वव्यापी निष्क्रमणको समयमा नेपालमा पिस कोरका १२४ जना स्वयंसेवक तथा प्रशिक्षार्थीले कृषि, स्वास्थ्य र शिक्षाका क्षेत्रमा काम गरिरहेका थिए ।
पिस कोरबारे : पिस कोर विश्व शान्ति तथा मित्रताको उद्देश्यबाट अभिप्रेरित स्वयंसेवक, समुदायका सदस्य, आतिथेय मुलुकका साझेदार र कर्मचारीहरूको एउटा अन्तर्राष्ट्रिय सेवा सञ्जाल हो । विश्वभरका सरकारहरूको आमन्त्रणमा पिस कोर स्वयंसेवकहरू शिक्षा, स्वास्थ्य, वातावरण, कृषि, सामुदायिक आर्थिक विकास र युवा विकासका क्षेत्रमा स्थानीय रूपमा प्राथमिकता निर्धारण गरिएका परियोजनाहरूमा समुदायका सदस्यहरूसँग काम गर्छन् । पिस कोर सञ्जालका सदस्यहरूले आफूले गरेको सेवामार्फत स्थानान्तरणीय सिपहरू विकास र अन्तर-सांस्कृतिक क्षमताहरू अभिवृद्धि गर्छन् जसले उनीहरूलाई विश्वका नेतृत्वकर्ताको आगामी पुस्ता बन्ने स्थानमा पुर्याउँछ । सन् १९६१ मा अमेरिकी राष्ट्रपति जोन एफ. केनेडीले पिस कोरको स्थापना गरेदेखि २ लाख ४० हजारभन्दा बढी अमेरिकीहरूले विश्वभर १४२ मुलुकमा सेवा गरिसकेका छन् । थप जानकारीका लागि peacecorps.gov हेर्नुहोला र फेसबुक, इन्सटाग्राम र ट्विटरमा हामीलाई फलो गर्नुहोला ।
पिस कोरसम्बन्धी प्रेस सोधपुछका लागि पिस कोरका प्रवक्ता ट्रोय ब्ल्याकवेललाई Tblackwell@peacecorps.gov मा सम्पर्क गर्नुहोला ।