नेपालमा ५५औँ वर्षगाँठ मनाउँदै पीस कोर

२०७३ चैत १०

काठमाडौँ – नेपालका लागि अमेरिकी राजदूत अलाइना बी. टेपलेट्ज तथा पीस कोरका नेपाल निर्देशक नेल्सन चेसले नेपालमा पीस कोरको आगमन भएको ५५ वर्ष पुगेको उपलक्ष्यमा आज एक विशेष समारोह आयोजना गर्नुभयो । कार्यक्रममा सन् १९६२ यता नेपालमा बसेर काम गर्दै मुलुकभरका समुदायहरूको सेवा गरिसकेका ३,७५० जनाभन्दा बढी अमेरिकी स्वयंसेवकहरूको योगदानको कदर गरियो । कार्यक्रममा कृषि विकास मन्त्रालय तथा स्वास्थ्य मन्त्रालयका पदाधिकारीहरू, पीस कोर स्वयंसेवकको कामबाट लाभान्वित नेपालीहरूका साथै थुप्रै वर्तमान तथा पूर्व स्वयंसेवकहरूको उपस्थिति रहेको थियो ।

कार्यक्रममा पीस कोर स्वयंसेवकहरूले विगत ५५ वर्षभन्दा लामो समयदेखि नेपालभर गरेको कामलाई समेटेर फोटो प्रदर्शनीको आयोजना गरिएको थियो । प्रदर्शनी सन् १९६२ देखि १९७० सम्मका पीस कोरका प्रारम्भिक वर्षहरूमा स्वयंसेवकहरूको जीवन तथा क्रियाकलापहरूमा केन्द्रित छ । हाल नेपालमा ५४ जना पीस कोर स्वयंसेवक सेवारत छन् । उनीहरू पश्‍चिमाञ्‍चल तथा मध्यपश्‍चिमाञ्‍चल विकास क्षेत्रका आठ जिल्लाका ग्रामीण समुदायमा खाद्य सुरक्षा क्षेत्रमा कार्यरत छन् ।

पीस कोर कार्यक्रमले अभिप्रेरित अमेरिकी स्वयंसेवकहरूलाई विदेशी समुदायसँग घुलमिल हुँदै विकासका चुनौती सम्बोधन गर्न स्थानीय अगुवाहरूसँगसँगै काम गर्नका लागि दुई वर्ष सेवा गर्ने अवसर प्रदान गर्दछ । हाल ६० भन्दा बढी देशमा सञ्‍चालित पीस कोर कार्यक्रमले विश्‍व शान्ति तथा मित्रतालाई प्रवर्द्धन गर्ने लक्ष्य लिएको छ । त्यसै क्रममा कार्यक्रमले इच्छुक मुलुकहरूलाई विकाससम्बन्धी आवश्यकतालाई सम्बोधन गर्न सघाउनुका साथै कार्यक्रमबाट लाभान्वित जनतासम्बन्धी अमेरिकी नागरिकहरूको सचेत बुझाइ प्रवर्द्धन गर्न र अन्य जनतामाझ अमेरिकी नागरिकहरूसम्बन्धी पनि सचेत बुझाइ प्रवर्द्धन गर्न सघाउँदै आएको छ । 

५५औँ वर्षगाँठको अवसरमा आयोजित फोटो प्रदर्शनीका तस्बिरहरूका लागि :
https://www.flickr.com/photos/usembassykathmandu/albums/72157681706775965 

# # #