वाशिङ्टन, डीसीमा मुख्यालय रहेको पिसकोरले कोभिड-१९ को प्रकोपका कारण चैत्र २ गते विश्वभरका आफ्ना स्वयंसेवक कार्य अस्थायी रूपमा स्थगन गर्ने र सबै स्थानबाट स्वयंसेवकहरू फर्काउने कार्य सुरु गर्ने कठिन निर्णय लिएको छ । यसमा नेपालमा रहेका पिसकोर स्वयंसेवक पनि समाविष्ट छन् । विश्वभर निरन्तर रूपमा बढ्दो यात्रा प्रतिबन्धको सङ्ख्या र अमेरिकास्थित आफ्ना घर फर्कन वा आवश्यक परेमा तत्काल आवश्यक स्वास्थ्य सेवा लिन आफू सेवारत मुलुक बाहिर यात्रा गर्न स्वयंसेवकहरूको असमर्थताका कारण यो निर्णय भएको हो ।
पिसकोरका निर्देशक डा. जडी के. अल्सनले यी फिर्ती कार्य अस्थायी भएको बताएका छन् । “हामीले कार्यस्थल तथा कार्यक्रमहरू बन्द गरेका छैनौँ र अवस्था अनुकूल बनेसँगै सामान्य सञ्चालनमा फर्कन हामी तयार रहनेछौँ । महत्त्वपूर्ण कुरा के छ भने हाम्रा आतिथेय मुलुकका कर्मचारीहरू आफ्ना हालका पदमा कायम रहनुहुनेछ । पिसकोर मिसनका हरेक तत्त्वमा वहाँहरूले अति महत्त्वपूर्ण भूमिका निर्वाह गर्नुहुन्छ, विशेष गरी सङ्कटको घडीमा ।”
“मलाई थाहा छ कि (विश्वका लागि), तपाईँको देशका लागि, र हाम्रा स्वयंसेवक तथा आतिथेय मुलुकका कर्मचारीहरूलाई ग्रहण गरेका समुदायहरूका लागि यो एक अत्यन्त तनावपूर्ण समय हो । बन्दोबस्तका दृष्टिले चुनौतीपूर्ण यी कार्य गर्दै गर्दा म यहाँहरूको समझदारपनको गहन सराहना गर्दछु र पिसकोरप्रति यहाँहरूको निरन्तर साथका लागि म अत्यन्त आभारी छु ।”
नेपाल र नेपाली समुदाय तथा परिवारहरूसँग पिसकोरको लामो र गहिरो सम्बन्ध छ । सन् १९६२ देखि लगभग ४,००० अमेरिकीहरूले स्वयंसेवकका रूपमा यहाँ सेवा गरेका छन् – शिक्षा, वातावरण तथा प्राकृतिक स्रोत संरक्षण, स्वास्थ्य, र समुदाय तथा युवा विकासमा काम गरेर । सम्भव भएको समयमा नेपालमा सेवारत स्वयंसेवकहरूको नेपालमा शीघ्र फिर्तीप्रति पिसकोर कटिबद्ध छ । उनीहरूको नेपाल फिर्तीको तयारी गर्नका लागि पिसकोरका कर्मचारीले हाम्रा नेपाली साझेदारहरूसँग काम जारी राख्नेछन् ।
पिसकोर र हाम्रा स्वयंसेवकप्रति देखाउनुभएको अपत्यारिलो समर्थन, रेखदेख तथा उदारताका लागि नेपाल सरकार, नेपाली आतिथेय परिवारहरू, साझेदारहरू तथा समुदायहरूप्रति हामी कृतज्ञ छौँ । हामी पिसकोर स्वयंसेवकको नेपाल फिर्तीका लागि मात्र होइन हामीले सँगै गर्ने कामको निरन्तरताको लागि पनि आतुर छौँ ।
###