Flag

An official website of the United States government

नीति तथा इतिहास
4 MINUTE READ
मे 29, 2021

अमेरिका-नेपाल सम्बन्ध

संयुक्त राज्य अमेरिकाले नेपाललाई सन् १९४७ मा स्वतन्त्र राष्ट्रको मान्यता प्रदान गरेको थियो, र दुई राष्ट्रबीच सन् १९४८ मा दौत्य सम्बन्ध स्थापना भएको थियो । दुई राष्ट्रबीचको आपसी सम्बन्ध मित्रतापूर्ण छ, र नेपालका लागि अमेरिकाको नीतिगत उद्देश्य भनेको यहाँ शान्त, समृद्ध, सुदृढ र प्रजातान्त्रिक समाज स्थापनाको प्रयासलाई सघाउनु हो । समावेशी र प्रभावकारी शासनव्यवस्थाको निर्माण, राजनीतिक स्थायित्व र आर्थिक विकास, मानवीय सेवाका क्षेत्रमा परनिर्भरताको न्यूनीकरण, क्षेत्रीय सुरक्षा तथा बृहत् अन्तर्राष्ट्रिय समुदायमा सकारात्मक योगदान पुर्‍याउने लगायतका पहलहरूमा नेपालसँग संयुक्त राज्य अमेरिकाले सहकार्य गरिरहेको छ । नेपाल शान्तिस्थापनाका अन्तर्राष्ट्रिय मिसनहरूमा ठूलो सङ्ख्यामा सेना पठाई सहयोग गर्नेमध्ये एक प्रमुख राष्ट्र हो ।

सन् २००६ मा विस्तृत शान्ति सम्झौतासँगै नेपालको दशक लामो माओवादी सशस्त्र द्वन्द्व समाप्त भयो । सन् २०१३ जुलाई महिनामा नेपाल सरकारले पूर्व माओवादी लडाकूहरूको नेपाली सेनामा सफलतापूर्वक समायोजन गरिसकिएको घोषणा गर्‍यो । द्वन्द्वको समाप्तिपश्चात् नेपालले सन् २००८ र २०१३ मा गरी दुईपटक संविधानसभाको निर्वाचन सम्पन्न गर्‍यो । सन् २०१५ को सेप्टेम्बर महिनामा दोस्रो संविधानसभाले नेपालको संविधान जारी गर्‍यो, जसमा २०१६ को जनवरी महिनामा संशोधन गरियो । नेपालको संसद्ले २०१६ अगस्ट ३ तारिखमा पुष्पकमल दाहाल (‘प्रचण्ड’) लाई देशको नयाँ प्रधानमन्त्रीमा निर्वाचित गर्‍यो ।

नेपालमा अमेरिकी सहयोग

नेपाल विश्वका विपन्नतम देशहरूमध्ये एक हो र यहाँ प्राकृतिक प्रकोपको जोखिम रहेको छ । यातायात र ऊर्जाका संरचनाको निराशाजनक अवस्था र जलवायु परिवर्तनको उच्च जोखिम जस्ता विकासका मध्यमकालीन र दीर्घकालीन कैयौँ चुनौतीहरू यहाँ विद्यमान छन् ।

नेपालमा अमेरिकी सहयोग शान्ति र स्थायित्व, लोकतान्त्रिक प्रक्रियाको सुदृढीकरण, अत्यावश्यक सामाजिक सेवाको सुनिश्चितता, प्रभावकारी स्वास्थ्य सेवाको पर्याप्तता, गरिबी न्यूनीकरण, खाद्य असुरक्षा र मौसम परिवर्तनका चुनौतीहरूको सामना जस्ता क्षेत्रमा पुर्‍याइएको योगदानलाई थप सुदृढ गर्नेतर्फ केन्द्रित छ ।

सन् २०१५ अप्रिल २५ मा आएको भूकम्पपश्चात नेपालको पुनर्स्थापना र पुननिर्माणमा सहयोग गर्न अमेरिका प्रतिबद्ध छ । सोही वर्ष जुन २५ मा काठमाडौंमा आयोजित पुननिर्माणसम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलनमा अमेरिकाले १३ करोड अमेरिकी डलर बराबरको सहयोग गर्ने प्रतिबद्धता जनाएको थियो । प्रतिबद्धता व्यक्त गर्दै अमेरिकी विदेशमन्त्रीले जुन २५ मा भन्नुभएको थियो – ‘यो हामीले गर्ने सहयोगको सुरुआत मात्र हो । अमेरिकी कङ्ग्रेसको समर्थन लिई हामी भूकम्पपछि कैयौँ वर्षसम्म जारी रहने पुनर्स्थापनाको दीर्घकालीन प्रयासमा नेपाललाई निरन्तर सहयोग गर्नेछौं ।’ आवास, शिक्षा, स्वास्थ्य, कृषि, जोखिममा रहेका समुदायको रक्षा, सांस्कृतिक सम्पदाको जगेर्ना जस्ता अत्यावश्यक क्षेत्रहरूमा सहयोग गर्दै नेपालको पुनर्स्थापनाको प्रयासलाई अमेरिकाले सघाइरहने छ ।

द्विपक्षीय आर्थिक सम्बन्ध

अमेरिका र नेपालले व्यापार र लगानी संरचना सम्झौता गरेका छन्, जसले दुई राष्ट्रबीच व्यापार र लगानीको सुदृढीकरण, व्यापारका विशेष मुद्दामा छलफल, र बृहत् व्यापारिक सम्बन्ध वृद्धि लगायतका विषयमा द्विपक्षीय वार्ता गर्ने अवसर उपलब्ध गराउँछ । नेपालमा अमेरिकाले निर्यात गर्ने प्रमुख वस्तुहरूमा कृषि सामग्री, हवाई पार्टपूर्जा, अप्टिकल तथा मेडिकल उपकरण, तथा कलपूर्जाहरू पर्छन् । त्यस्तै नेपालबाट अमेरिकाले आयात गर्ने वस्तुमा गलैंचा, लत्ताकपडा, र गरगहना गर्छन् ।

अन्तर्राष्ट्रिय संगठनहरूमा नेपालको सदस्यता

नेपाल र अमेरिका संयुक्त राष्ट्रसंघ, अन्तर्राष्ट्रिय मुद्राकोष, विश्वबैंक, विश्व व्यापार संगठन लगायतका विभिन्न अन्तर्राष्ट्रिय संगठनहरूको सदस्य राष्ट्रहरू हुन् ।

द्विपक्षीय प्रतिनिधित्व

नेपालका लागि अमेरिकी राजदूत अलाइना बी. टेपलेट्ज र दूतावासका अन्य प्रमुख अधिकारीहरूको सूची अमेरिकी विदेश मन्त्रालयको वेबसाइटमा उपलब्ध छ ।

अमेरिकाका लागि नेपालको दूतावास २१३१ लेरोय प्लेस, एन डब्ल्यु, वाशिंगटन डीसी २०००८ मा अवस्थित छ । त्यहाँको फोन नम्बर २०२-६६७-४५५० हो ।

नेपाल ’bout थप जानकारी अमेरिकी विदेश मन्त्रालय र देहायका अन्य सम्बन्धित निकायमा उपलब्ध छन् :

Department of State Nepal Country Page
Department of State Key Officers List
U.S. Embassy: Nepal
USAID Nepal Page
History of U.S. Relations With Nepal
Human Rights Reports 
International Religious Freedom Reports
Trafficking in Persons Reports
Narcotics Control Reports
Investment Climate Statements
Office of the U.S. Trade Representative Countries Page
U.S. Census Bureau Foreign Trade Statistics
Library of Congress Country Studies
Travel and Business Information