प्रधानमन्त्री के.पी. शर्मा ओली तथा कार्यवाहक अमेरिकी राजदूत पिटर मालनाकद्वारा भरखरै जीर्णोद्धार सम्पन्न भएको गद्दी बैठकको उद्‌घाटन

२०७५ असार १३

काठमाडौँ – प्रधानमन्त्री के.पी. शर्मा ओली तथा कार्यवाहक अमेरिकी राजदूत पिटर मालनाकले काठमाडौँको हनुमानढोका दरबार क्षेत्रस्थित हालै मात्र जीर्णोद्धार कार्य सम्पन्न भएका गद्दी बैठक तथा अन्य चार स्मारकको संयुक्त रूपमा समुद्‌घाटन गर्नुभएको छ । अमेरिकी सरकारको सांस्कृतिक संरक्षणसम्बन्धी राजदूत कोष (एएफसीपी) ले सात लाख अमेरिकी डलरको अनुदान प्रदान गरी मियामोटो ग्लोबल डिजास्टर रिलिफ तथा नेपाल सरकारको पुरातत्व विभागसँगको साझेदारीमा २०७२ सालको भूकम्पबाट गम्भीर रूपमा क्षतिग्रस्त भएको ऐतिहासिक गद्दी बैठकको भूकम्पीय प्रबलीकरण तथा पूर्ण जीर्णोद्धार गरेको हो ।

“नेपाली तथा अमेरिकी सांस्कृतिक सम्पदा विदहरूबीचको सहकार्यमार्फत गद्दी बैठकको जीर्णोद्धार तथा भूकम्पीय प्रबलीकरण गर्ने मौका जुटेको हो,” कार्यवाहक राजदूत पिटर मालनाकले भन्नुभयो । “गद्दी बैठक नेपाली सांस्कृतिक सम्पदा तथा इतिहासको अति महत्त्वपूर्ण संरचनामध्ये एक हो । हाम्रा सरकार र समुदायहरूबीचको सहकार्यका कारण यो वास्तविक परिणाम सम्भव भएको हो । गद्दी बैठकको सफल जीर्णोद्धार कार्यबाट के देखिन्छ भने काठमाडौँ उपत्यकामा यस प्रकारका स्मारकहरूको जीर्णोद्धार सम्भव हुनुका साथै खर्चका हिसाबले प्रभावकारी समेत छ ।”

यस सम्पदास्थलको जीर्णोद्धारका लागि भूकम्प प्रतिरोधी विधिमा दक्षता भएका इन्जिनियरहरूले सांस्कृतिक सम्पदा संरक्षण तथा जीर्णोद्धारसम्बन्धी अनुभवप्राप्‍त आर्किटेक्टहरूसँग सहकार्य गरेका थिए । उनीहरूले संयुक्त रूपमा गद्दी बैठक भवनको जीर्णोद्धारको डिजाइन तथा निरीक्षण गरेका थिए । उक्त भवनको वास्तुशिल्प निष्ठामा आँच नआउने गरी भूकम्पीय प्रबलीकरण गर्नका लागि उनीहरूले लक्षित संरचनागत हस्तक्षेप समेत गरेका थिए । गद्दी बैठकलाई अझै भूकम्प प्रतिरोधी बनाउन र भावी पुस्ताका लागि संरक्षण गर्न जीर्णोद्धारका क्रममा स्थानीय शिल्पकार तथा परम्परागत निर्माण सामग्री तथा विधि प्रयोग गरिएको थियो ।

प्रधानमन्त्री ओली तथा कार्यवाहक राजदूत मालनाकले हनुमानढोका दरबार क्षेत्रमै अवस्थित १७औँ/१८औँ शताब्दीमा निर्माण भई हालै जीर्णोद्धार तथा पुनर्निर्माण गरिएका महादेव, कागेश्‍वर, लक्ष्मीनारायण र सरस्वती मन्दिरहरूको समेत समुद्‌घाटन गर्नुभयो । एएफसीपीको दुई लाख अमेरिकी डलर रकमको भूकम्पपछिको आकस्मिक अनुदानमार्फत काठमाडौँ भ्याली प्रिजर्भेसन ट्रष्ट (केभीपीटी) ले नेवारी शैलीका यी स्मारकहरूको जीर्णोद्धार कार्य तथा भूकम्पीय प्रबलीकरण सम्पन्न गरेको हो ।

एएफसीपी कार्यक्रमले विश्‍वका विभिन्न देशमा रहेका सांस्कृतिक सम्पदाको संरक्षणका लागि प्रत्यक्ष अनुदान सहयोग उपलब्ध गराउँछ । एएफसीपी अमेरिकी सरकारको विदेशमा सञ्‍चालित सबैभन्दा महत्त्वपूर्ण सांस्कृतिक संरक्षण कार्यक्रम हो । सन् २००१ देखि एएफसीपीले १२५ भन्दा धेरै मुलुकहरूमा ८५० भन्दा बढी सांस्कृतिक संरक्षणसम्बन्धी परियोजनाहरूलाई सहयोग गरिसकेको छ । विगत दुई दशकमा एएफसीपीअन्तर्गत नेपालमा ३४ लाख अमेरिकी डलरभन्दा बढी लागतका २२ परियोजना पूरा गरिसकिएको छ ।

# # #