रिटर्निङ रेसिडेन्ट भिसा

अमेरिका बाहिर एक वर्षभन्दा बढी समय रहेका वा रिइन्ट्री पर्मिट (पुन:प्रवेश अनुमतिपत्र) बमोजिम अमेरिका फिर्ता हुनुपर्ने अवधि नाघेका पर्मानेन्ट रेसिडेन्ट (अर्थात् वैध स्थायी बासिन्दा वा एलपीआर) वा कन्डिशनल रेसिडेन्ट (सीआर) ले अमेरिका प्रवेश गर्न तथा स्थायी बासिन्दाका रूपमा बसोबास गर्नका लागि रिटर्निङ रेसिडेन्ट भिसा (SB-1) लिनुपर्ने हुन्छ । रिटर्निङ रेसिडेन्ट भिसा’bout थप जानकारी https://travel.state.gov/content/travel/en/us-visas/immigrate/returning-resident.html मा उपलब्ध छ ।

आफ्नो रिटर्निङ रेसिडेन्ट हैसियत पत्ता लगाउनका लागि नेपालस्थित अमेरिकी दूतावासमा अन्तर्वार्ता निर्धारण गर्नु पर्दछ । अन्तर्वार्ताका लागि समय लिन consktm@state.gov मा ईमेल पठाउनुहोला । विस्तृत पुनरावलोकन तथा अन्तर्वार्तापश्‍चात् कन्सुलर अफिसरले तपाईँ SB-1 भिसाका निम्ति योग्य हुनुहुन्छ कि हुनुहुन्न भन्ने कुरा निर्धारण गर्नेछन् । उक्त हैसियतका लागि योग्य हुन तपाईँले निम्न कुराहरू प्रदर्शन गर्नु पर्दछ :

अमेरिकाबाट बाहिरिँदा तपाईँ वैध स्थायी बासिन्दा हुनुहुन्थ्यो ।
अमेरिकाबाट बाहिरिँदा तपाईँले अमेरिका फर्किने आसय लिनुभएको थियो र उक्त आसयलाई कायम राख्‍नुभएको छ ।
तपाईँ विदेशको अस्थायी भ्रमणबाट फर्कँदै हुनुहुन्छ र यदि तपाईँको नियन्त्रणभन्दा बाहिरका कारणले गर्दा तपाईँको बसाइ लम्बिएको हो, जसका लागि तपाईँ जिम्मेवार हुनुहुन्नथ्यो ।
तपाईँ अन्य सबै अवस्थामा आप्रवासी भिसाका निम्ति योग्य हुनुहुन्छ ।

अन्तर्वार्ताका लागि आउँदा साथमा निम्न कागजात लिएर आउनुहोला :

भरिएको Form DS-117 – रिटर्निङ रेसिडेन्ट हैसियत निर्धारण गर्नका लागि आवेदन
बहालवाला राहदानी
हालै खिचिएका दुई रङ्गिन फोटोहरू । फोटोको साइज २ इन्च x २ इन्च (५ सेमी x ५ सेमी) हुनुपर्नेछ । टाउको ढाकिएको हुनु हुँदैन, अनुहारको अग्रभाग पूर्ण रूपमा देखिएको हुनु पर्दछ र फोटोको पृष्ठभूमिको रङ सेतो हुनु पर्दछ । झुम्का वा चश्मा लगाएको हुनु हुँदैन ।
रिटर्निङ रेसिडेन्ट हैसियत निर्धारण गर्नका लागि आवेदन पेश गर्दा लाग्ने वर्तमान शुल्कसम्बन्धी जानकारी https://travel.state.gov/content/travel/en/us-visas/visa-information-resources/fees/fees-visa-services.html#special मा उपलब्ध छ ।

वैध स्थायी बासिन्दा कार्ड

निम्न कुराहरू प्रदर्शन गर्ने सहायक कागजातहरू समेत पेश गर्नुपर्नेछ :

  • अमेरिका बाहिरको भ्रमण मिति (उदाहरणका लागि हवाई टिकट, पासपोर्टमा लगाइएका छाप, आदि)
  • अमेरिकासँगको आफ्नो सम्बन्ध र अमेरिका फर्कने आसयको प्रमाण (उदाहरणका लागि करसम्बन्धी विवरण, अमेरिकासँग आर्थिक, पारिवारिक र सामाजिक सम्बन्धको प्रमाण)
  • अमेरिका बाहिरको बसाइ लम्बिनुको कारण आफ्नो नियन्त्रणभन्दा बाहिर थियो र त्यसका निम्ति तपाईँ जिम्मेवार हुनुहुन्नथ्यो भन्ने कुराको प्रमाण (उदाहरणका लागि स्वास्थ्य अक्षमता, अमेरिकी कम्पनीसँगको पेशागत आबद्धता, आदि) ।

शुल्क
सबै आवेदकहरूले १८० अमेरिकी डलरको फिर्ता नहुने दाखिला शुल्क (वा सो सरहको रकम स्थानीय मुद्रामा) तिर्न आवश्यक छ । उक्त शुल्क दूतावासको कन्सुलर क्‍याशिएरमा नगद वा प्रमुख क्रेडिट कार्डमार्फत तिर्न सकिन्छ । दाखिला शुल्क भिसा आवेदन शुल्क होइन । यो त रिटर्निङ रेसिडेन्ट हैसियत निर्धारण गर्नका लागि लाग्ने शुल्क हो । दाखिला शुल्क तिर्दैमा त्यसले रिटर्निङ रेसिडेन्ट हैसियत स्वीकृत हुन्छ भन्ने कुरा प्रत्याभूत गर्दैन ।

अपवाद
अमेरिकाको सशस्त्र फौजका सदस्य वा विदेशमा कार्यरत अमेरिकी सरकारका निजामती कर्मचारीका श्रीमान् वा श्रीमती वा बालबालिकाका हकमा आधिकारिक आदेश बमोजिम एक वर्षको हदम्याद लागु हुँदैन । यस्तो अवस्थामा श्रीमान् वा श्रीमती वा बालबालिकाले माथि उल्लिखित कार्ड पेश गर्नु पर्नेछ । निजले बसोबास त्यागेको हुनु हुँदैन र त्यस्तो सदस्य वा कर्मचारी अमेरिका फर्किँदा निज पनि सदस्य वा कर्मचारीभन्दा अगाडि वा सदस्य वा कर्मचारीको साथमा वा सदस्य वा कर्मचारी फर्केको चार महिनाभित्र अमेरिका आउनै पर्नेछ ।