प्रशासक समान्था पावरद्वारा नेपालका लोकतान्त्रिक संस्था र नागरिक समाजको सुदृढीकरणका निम्ति करिब ६ करोड डलर सहयोगको घोषणा
प्रशासक समान्था पावरले आज नेपालका सरकार, नागरिक समाज र निजी क्षेत्रका नेतृत्वकर्ताहरूमाझ नेपालको लोकतान्त्रिक उन्नतिलाई अघि बढाउन युएसएआइडीले ५ करोड ८५ लाख अमेरिकी डलरसम्मको सहयोग प्रदान गर्ने घोषणा गर्नुभएको छ । सो रकम स्रोतको उपलब्धतामा निर्भर हुनेछ । उक्त घोषणा सन् २०२२ मा घोषित ६५ करोड ९० लाख अमेरिकी डलरको विकास उद्देश्य सम्झौताको एक अंश हो ।
यसै वर्ष पारदर्शी तथा शान्तिपूर्ण आमनिर्वाचन सम्पन्न भएसँगै सङ्घीयता सुदृढ गर्ने, महिला र सीमान्तकृत समुदायहरूको समावेशीकरणलाई अगाडि बढाउने, आफ्ना युवाहरूको सशक्तीकरण गर्ने र लोकतन्त्रले आफ्ना नागरिकका हितमा परिणाम ल्याउन सक्छ भनी देखाउने अवसर नेपालसँग छ । यस कार्यमा अमेरिकाको साझेदारी रहनेछ ।
युएसएआइडीका लगानीले सार्वजनिक वित्तीय व्यवस्थापन, स्वतन्त्र नागरिक समाज तथा सञ्चार माध्यम, लोकतान्त्रिक प्रक्रिया तथा संस्था, कानुनी शासन र निजी क्षेत्र विकासको सुदृढीकरण गरी नेपाललाई आफ्ना लोकतान्त्रिक उपलब्धिहरू मजबुत पार्न र नेपालीहरूका निम्ति अझ बृहत् समृद्धि र उत्थानशीलता भित्र्याउन मद्दत गर्नेछन् । मानव बेचबिखनविरुद्ध लड्न नेपाललाई सहयोग गर्न पनि युएसएआइडीले जारी राख्नेछ ।
समावेशी लोकतन्त्रको सुदृढीकरण : आज घोषित लगानीमा आर्थिक दृष्टिकोणबाट अझ बढी पारदर्शी र जबाफदेही तवरबाट सार्वजनिक सेवाहरू प्रदान गर्न प्रादेशिक तथा स्थानीय सरकारहरूलाई सहयोग गरी नेपालमा समावेशी लोकतन्त्र र समृद्धिको सुदृढीकरण गर्न २ करोड डलरसम्म समावेश गरिएको छ ।
नागरिक समाज र सञ्चार माध्यमको समर्थन : उक्त लगानीमा सामुदायिक आवश्यकता, आधारभूत स्वतन्त्रता र जबाफदेहितालाई अघि बढाउन महिला, युवा र सीमान्तकृत समुदायहरूका नेतृत्वमा र उनीहरूकै निम्ति बनेका स्वतन्त्र नागरिक समाजका संस्थाहरूलाई सहयोग गर्न १ करोड ८५ लाख डलरसम्मको रकम समाविष्ट छ । सरकार र आमजनतासँग प्रभावकारी रूपमा संलग्न हुन आवश्यक सिप, विश्वसनीयता र विधिहरू विकास गर्दै गर्दा उक्त नागरिक समाजका सङ्गठनहरूसँग युएसएआइडीले काम गर्नेछ । युएसएआइडीले सञ्चार माध्यममाथिको सामाजिक विश्वास बढाउने किसिमका विश्वसनीय सूचना र अझ बढी विविधतायुक्त भाष्यहरूमा सार्वजनिक पहुँच सुधार गर्ने प्रयासहरूलाई सहयोग गर्न सञ्चार माध्यमहरूसँग पनि साझेदारी गर्नेछ ।
स्थानीय निर्वाचन तथा कानुनी शासनलाई मजबुत बनाउने र मानव बेचबिखनविरुद्ध लड्ने : कानुनी शासनलाई मजबुत बनाउन, स्वतन्त्र र निष्पक्ष निर्वाचनलाई थप टेवा पुर्याउन र मानव बेचबिखनविरुद्ध लड्न पनि युएसएआइडीले स्थानीय नेपाली सङ्गठनहरू र सरकारी संस्थाहरूसँग निकट रही काम गर्ने र तिनलाई सहयोग गर्नेछ ।
यी नयाँ लगानीहरू नेपालका लक्ष्य र आकाङ्क्षाहरूलाई टेवा पुर्याउन नेपालका सरकार र जनता, निजी क्षेत्र र अन्यसँग रहेको युएसएआइडीको ६० वर्षभन्दा लामो साझेदारीमा आधारित छन् । साझेदारीप्रति युएसएआइडीको दृष्टिकोण नेपालीहरूले आफ्नो लोकतन्त्रलाई कसरी सुदृढ बनाउने भनी राम्ररी जान्दछन् र सम्मानजनक र पारस्परिक सहयोगबाट मात्र हामी नेपाललाई समृद्ध बन्न मद्दत गर्न सक्छौँ भन्ने मान्यतामा आधारित छ । नेपालले हालसालै जारी गरेको साझा न्यूनतम कार्यक्रममा समाविष्ट लगायतका सरकारी प्राथमिकताहरूसँग हाम्रो सहयोगलाई समायोजन गर्न सम्बन्धित नेपाली सरकारी निकायहरूसँगको साझेदारीमा काम गर्न युएसएआइडी तत्पर छ ।
###