लोकतन्त्रका असहजताहरू

अधिकार संरक्षण सबैको लागि समान रूपमा गर्नुपर्छ

राजदूत अलाइना बी. टेपलेट्ज

पूर्ण लोकतान्त्रिक समाजमा सहभागिता कहिलेकाहीँ असहज हुन सक्छ । लोकतान्त्रिक स्थान प्रतिस्पर्धी विचारहरूले भरिएको हुन्छ, तीमध्ये केही तपाईंका आफ्नै विचारका प्रतिध्वनि हुन्छन् भने धेरैचाहिँ सहमत हुन नसकिने वा ‘गलत’ वा ‘खतरनाक’ समेत हुन्छन् । लोकतान्त्रिक मुलुकका नागरिकका बलिया विचारहरूले कहिलेकाहीँ प्रत्यक्ष चुनौतीको सामना गर्नुपर्ने हुन्छ । त्यसले असहजता उत्पन्न गर्दछ । र, त्यो राम्रो कुरा हो ।

मानिसहरूले लोकतन्त्रका असहजताहरूलाई किन झेल्ने त ? सर्वप्रथम, लोकतान्त्रिक जीवनको स्वाभाविक र स्वस्थ हिस्साका रूपमा रहेको सार्वजनिक बहस महत्वपूर्ण विषयवस्तुहरूको खोजीनीति गर्नका लागि जरुरी छ ।

विमति राख्‍ने (र तपाईंसँग असहमत हुने) नागरिकहरूसँग विचार र दृष्टिकोण आदानप्रदान गर्नु नीतिलाई आकार दिनको लागि महत्वपूर्ण छ । विभिन्न विचार व्यक्त गर्नाले र सुन्नाले नागरिक र राजनीतिक नेताहरूलाई समझदारीमा पुग्न र नियम, कानुन र सामाजिक अपेक्षाहरूलाई विकसित गर्न वा बदल्न मद्दत पुग्छ ।

संयुक्त राष्ट्रसंघको मानव अधिकारसम्बन्धी विश्‍वव्यापी घोषणापत्रमा भनिएको छ, ‘मानवहरूले धर्म र वाक् स्वतन्त्रताको अधिकार उपभोग गर्न पाउनुपर्छ र भय र अभावबाट मुक्ति पाउनुपर्छ भन्ने सर्वसाधारण जनताको घोषित सर्वोच्च आकांक्षा हो ।’

यस घोषणापत्रले इन्टरनेसनल बिल अफ राइट्स (मानव अधिकारसम्बन्धी अन्तर्राष्ट्रिय कानुन) का साथै अन्य कतिपय महत्वपूर्ण मानव अधिकारसम्बन्धी सहमतिहरूको जगको रूपमा काम गरेको छ । सरकार, व्यक्ति र गैरसरकारी समूहले कारबाही अघि बढाउनको लागि यो मापदण्ड नै बनेको छ । सबैभन्दा उल्लेखनीय पक्ष के छ भने राष्ट्रसंघीय मानव अधिकारसम्बन्धी विश्‍वव्यापी घोषणापत्रलाई विश्‍वका हरेक मुलुकले अनुमोदन गरेका छन् । व्यावहारिक रूपमा अन्य कुनै अन्तर्राष्ट्रिय दस्ताबेजले यस्तो अहोभाग्य दाबी गर्न सक्दैन । त्यसैले यो असहजता किन मननयोग्य छ, त्यसको यो दोस्रो कारण हो । वाक् स्वतन्त्रता एक अन्तर्राष्ट्रिय मान्यता हो ।

हामी अमेरिकी नागरिक अझै पनि हाम्रा आफ्नै लोकतान्त्रिक अभ्यासहरूलाई परिष्कृत बनाउने प्रक्रियामा छौँ । यद्यपि, पछिल्लो २४० वर्षमा अमेरिकी प्रतिनिधि लोकतन्त्रको क्षेत्रमा काम गरेपछि हामीले आफ्नो समाजभित्र केही आधारभूत सहमतिहरू गरेका छौँ र सार्वजनिक बहस र वाक् स्वतन्त्रताका सम्बन्धमा हाम्रा मूलभूत मूल्यमान्यता के हुन् भन्ने पक्षलाई परिभाषित गरेका छौं ।

अमेरिकी संविधानको पहिलो संशोधनले अमेरिकी कंग्रेसलाई वाक् स्वतन्त्रतालाई संकुचित गर्ने कुनै पनि कानुन बनाउन निषेध गरेको छ । र, यस अधिकारले बोल्ने, लेख्‍ने वा सञ्‍चारमाध्यममा प्रकाशित गर्ने मात्रभन्दा निकै धेरै कुरा समावेश गरेको छ ।

अमेरिकी अदालतका चुनौतीको लामो इतिहासमा यसले मौन रहने अधिकार, विद्यालय जाँदा विद्यार्थीहरूले युद्धको विरोधमा हातमा पट्टी बाँध्न पाउने अधिकार, राजनीतिक सन्देश प्रवाह गर्न निश्चित अपशब्द वा वाक्‍यांश प्रयोग गर्न पाउने अधिकार र विरोधस्वरूप अमेरिकी झन्डा जलाउने जस्ता सांकेतिक अभिव्यक्तिमा संलग्न हुन पाउने अधिकार जस्ता अभिव्यक्तिका अन्य माध्यमसमेत समावेश गरेको छ ।

अमेरिकी सर्वोच्च अदालतले अभिव्यक्ति स्वतन्त्रता भनेको ‘झन्डै सबै प्रकारका स्वतन्त्रताको लागि अविभाज्य सर्त हो’ भन्ने लेखेको छ । यसबिना अन्य मौलिक हक निस्तेज र मृत हुन्छन् ।

सुविकसित लोकतान्त्रिक प्रणाली भएका अन्य देशहरू यस विषयमा हामीसँग शतप्रतिशत सहमत नहुन सक्छन्, तर हामी के विश्‍वास गर्दछौँ भने राजनीतिक बहसमा आफू सहमत हुन नसक्ने खालका विचार, जसले हामीलाई असजिलो अवस्थामा पु‍र्याउन सक्छन् वा चित्त नबुझ्नसमेत सक्छन्, त्यस्ता विचार अन्ततः स्वस्थकर र आवश्यक हुन्छन् ।

विचारहरूको स्वतन्त्र र खुला आदानप्रदानले समझदारीलाई प्रोत्साहन गर्छ, सत्यको खोजीलाई विकसित बनाउँछ र असत्यको खण्डन गर्दछ भन्ने मान्यताको जगमा अमेरिकी प्रणाली निर्मित छ ।

आफ्नो समाजमा अभिव्यक्ति स्वतन्त्रतालाई मौलाउन दिएर व्यक्तिहरूले आफ्नो पूर्ण सम्भावनालाई हासिल गर्न सक्छन् ।

अमेरिकामा राष्ट्रपतीय चुनाव आउन अब केही महिना मात्र बाँकी रहेको र हाम्रो प्रथम महिला राष्ट्रपति चुनिन सक्ने सम्भावना रहेको अवस्थामा मलाई के कुरा स्मरण भएको छ भने सय वर्षभन्दा पनि कम समयअघि अमेरिकी महिलाले पहिलोपटक मतदान गर्ने अधिकार प्रयोग गरेका थिए ।

यस अधिकारले तब मात्रै मान्यता पायो, जब महिला (र पुरुष) ले भाषण गरे, निवेदनहरूमा हस्ताक्षर गरे, शान्तिपूर्ण प्रदर्शन गरे र पुरुषजस्तै महिला पनि नागरिकतासम्बन्धी सबै अधिकार र जिम्मेवारी पाउन योग्य छन् भन्ने तर्क बारम्बार राखे ।

वाक् स्वतन्त्रताले सरकारमाथि नियन्त्रणको समेत काम गर्दछ ’cause यस स्वतन्त्रताले नागरिकलाई कुनै प्रतिशोध वा दण्डको डरत्रासबिना सरकारको खुला रूपमा आलोचना गर्ने छुट प्रदान गर्दछ । उदाहरणको लागि, भियतनाम युद्धमा संयुक्त राज्य अमेरिकाको संलग्नताविरुद्ध आन्दोलन गर्न वाक् स्वतन्त्रताको प्रयोग गरिएको थियो ।

सन् १९६४ मा एक चुनौतीपूर्ण, भावनात्मक र ध्रुवीकृत बहस सुरु भयो र वर्षौंसम्म जोडतोडका साथ चल्यो । अहिंसात्मक प्रदर्शन, विचार लेख र अन्य शान्तिपूर्ण कार्यक्रमको प्रयोगद्वारा सन् १९६७ भित्र विपक्षी समूहहरू अधिकांश अमेरिकी नागरिकलाई भियतनाममा अमेरिकी सेनालाई संलग्न गराउनु गलत थियो भनी विश्‍वस्त पार्न सफल भए । यसको प्रतिफलस्वरूप अन्ततः अमेरिकाले भियतनामको युद्धबाट हात झिक्‍यो ।

कुनै असहज कुराको परीक्षण गर्न अमेरिकी नागरिकले वाक् स्वतन्त्रताको अभ्यास गरेको त्यो नै अन्तिमपटक भने थिएन । विगत २५ वर्षयता संयुक्त राज्य अमेरिकामा विद्यमान त्यस्तै एउटा विषय हो समलिंगी विवाह । सञ्‍चारमाध्यम, अदालत र इन्टरनेटमार्फत पक्षधर र विपक्षीहरू अक्सर समलिंगीहरूको सहवास ‘कानुनको आँखामा समान मर्यादा’ पाउन योग्य छ कि छैन भन्ने विषयमा चर्का बहसहरूमा सरिक भए ।

अमेरिकी सर्वोच्च अदालतले उनीहरूको पक्षमा फैसला गरी वैवाहिक समानतासम्बन्धी उदीयमान बुझाइको समर्थनमा दुई दसकदेखिको सार्वजनिक बहसलाई प्रतिविम्बित ग‍र्यो ।

आफ्नो अभिव्यक्ति स्वतन्त्रताको संरक्षण गर्दा अर्काको अधिकार संरक्षण गर्नु पनि अपरिहार्य छ । अमेरिकामा यसको चर्चित उदाहरणको रूपमा रहेको सन् १९७८ को एक घटनामा अमेरिकी नागरिक स्वतन्त्रता युनियनले हलोकस्टबाट प्रभावित थुप्रै मानिस बसोवास गर्ने एलेनोईस्थित स्कोकीनजिकैको सिकागो हुँदै शान्तिपूर्ण प्रदर्शन गर्न चाहेको एक नाजी समूहको प्रतिरक्षा ग‍¥यो । सोही युनियनले संघीय अदालतलाई नाजीहरूको शान्तिपूर्ण प्रदर्शन गर्न र आफ्नो विचार व्यक्त गर्न पाउने पहिलो संशोधनअन्तर्गतको हक रक्षा गर्न सहमत तुल्यायो ।

अभिव्यक्ति स्वतन्त्रताको अधिकार अलोकप्रिय समूहसमेत गरी सबैलाई लागू हुनुपर्छ भन्ने सिद्धान्तप्रतिको प्रतिबद्धता यसबाट झल्कियो । यस अधिकारको संरक्षण गर्दा सबैका लागि समान रूपमा संरक्षण गर्नुपर्छ, चाहे यस्तो सिद्धान्त लागू गर्दा जति नै असहजता उत्पन्न किन नहोस् । लेखक एभलिन बियट्रिस हलले एकपटक लेख्‍नुभए झैँ ‘म तपाईंले भनेको कुरा अस्वीकार गर्छु, तर नमरुञ्‍जेल त्यसो भन्ने तपाईंको अधिकारको प्रतिरक्षा गरिरहनेछु ।’

त्यसो त, हाम्रो कानुनअन्तर्गत अझै पनि वाक् स्वतन्त्रताका केही सीमा छन्, जसलाई अमेरिकी सर्वोच्च अदालतमा दुई शताब्दीभन्दा लामो अवधिमा परेका मुद्दाहरूका आधारमा विकास गरिएको हो । अमेरिकामा अर्कालाई हानि पु‍¥याउने खालका कार्य गर्न कसैलाई उक्साउन पाइँदैन ।

सन् १९१९ मा सर्वोच्च अदालतका तत्कालीन न्यायाधीश ओलिभर वेन्डेल होम्सले लिबर्टी (स्वतन्त्रता) र लाइसेन्स (उपयुक्तता) बीचको उत्कृष्ट भिन्नता छुट्ट्याए । केही भन्न पाउने अधिकार छ भन्दैमा त्यो कुरा जति बेला मन लाग्यो त्यति बेला भन्न मिल्दैन । उदाहरणको लागि भीडभाडयुक्त चलचित्र घरमा ‘आगलागी भयो’ भन्दै चिच्याउनु भनेको वाक् स्वतन्त्रताको हानिकारक प्रयोग हो ।

वाक् तथा अभिव्यक्ति स्वतन्त्रता लोकतान्त्रिक समाजको आधारशिला हो । नागरिकका फरकफरक विचार हुने हुँदा यो स्वतन्त्रता केही असहजताका साथ आउँछ । अमेरिका के विश्‍वास गर्छ र अनुभवले के देखाएको छ भने चित्त नबुझ्दो वाक् स्वतन्त्रतालाई सामना गर्ने उत्कृष्ट तरिका दमन नभई वाक् स्वतन्त्रताको थप प्रयोग हो । कुनै विषयसँग सम्बन्धित राजनीतिक कार्टुन मन परेन ? त्यसभन्दा राम्रो कार्टुन बनाऔँ, कार्टुन बनाउने व्यक्तिलाई सजाय नदिऊँ । राष्ट्रपति बाराक ओबामाले हालै भनेझैँ ‘हामीले स्वतन्त्र प्रेस र वाक् स्वतन्त्रताको रक्षा गर्नुपर्छ ’cause आखिरमा गएर झूटो र गलत सूचना सत्यको कुनै पर्याय हुन सक्दैन ।’

प्रकाशित : अन्नपूर्ण पोस्ट, असार ८, २०७३