Flag

An official website of the United States government

नेपालमा नोभल कोरोना भाइरस नियन्त्रण गर्न अमेरिकी सरकारद्वारा व्यक्तिगत सुरक्षा उपकरण प्रदान
1 MINUTE READ
मार्च 6, 2020

नोभल कोरोना भाइरस (कोभिड-१९) रोगको प्रसार रोक्‍ने नेपाल सरकारका जारी प्रयासहरूमा थप गर्न अमेरिकी सरकारले आज अत्यावश्यक व्यक्तिगत सुरक्षा उपकरण (पिपिई) हस्तान्तरण गरेको छ । यी पिपिई स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको अनुरोधमा अमेरिकी अन्तर्राष्ट्रिय विकास नियोग (युएसएआइडी) ले प्रदान गरेको हो ।

प्रदान गरिएका उपकरणमा ३,००० मास्क; २,५०० चेहरा कवच; २,००० जुत्ता ढाक्ने खोल; २,१०० सर्जिकल टोपी; १,००० ट्राउजर तथा ट्युनिक; र १० वटा थर्मो फ्ल्यास थर्मोमिटर समाविष्‍ट छन् । यी सामाग्री तोकिएका अस्पतालहरूमा कोभिड-१९ लागेको शङ्का गरिएकाको उपचारमा संलग्‍न स्वास्थ्यकर्मीको सुरक्षामा प्रयोग गरिनेछ । प्रदान गरिएका यी सामाग्रीको एक भाग देशमा कोभिड-१९ को प्रकोप फैलिएमा प्रतिक्रिया जनाउन स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले नेपालभर विद्यमान राष्‍ट्रिय तथा क्षेत्रीय गोदामहरूमा पनि अग्रिम रूपमा राख्‍नेछ । यसअघि, फागुन ६ गते अमेरिकी सरकारको रक्षा सहकार्य कार्यालयले वुहान सहरबाट उद्धार गरिएका विद्यार्थीको क्वारेन्टाइन कार्यमा मद्दत गर्न नेपाली सेनालाई चिकित्सकीय व्यक्तिगत सुरक्षा उपकरणका ७ थान, लेटेक्स पन्जा ४०० थान, र जैविक जोखिमका वस्तु बोक्ने झोला ११० थान हस्तान्तरण गरेको थियो । ती सामाग्री वाल्टर रीड सशस्त्र बल चिकित्सा विज्ञान अध्ययन संस्थानको नेपाल इकाईद्वारा उपलब्ध गराइएका हुन् ।

आजका पिपिई सामाग्रीको अनुदान अमेरिकी जनताको उदार सहयोगका कारण सम्भव भएको हो । “कोभिड-१९ को नियन्त्रणका प्रयासहरूमा नेपाल सरकारसँगको हाम्रो साझेदारीलाई निरन्तरता दिन पाउँदा युएसएआइडीलाई गर्व छ । अनुदानमा दिइएका यी पिपिई सामाग्रीले गुणस्तरीय, जिवनरक्षक स्वास्थ्यसेवामा सबै नेपाली जनताको पहुँच सुनिश्‍चित गर्नेप्रति अमेरिकी सरकारको दीर्घकालीन कटिबद्धताको पुनः पुष्‍टि गर्दछन्,” युएसएआइडी-नेपालकी कार्यवाहक प्रमुख एड्रिएना हेजले बताउनुभयो । हस्तान्तरण समारोहमा बोल्दै स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सचिव यादव कोइरालाले भन्नुभयो, “यी अत्यावश्यक सामाग्री अत्यन्त सामयिक छन् । यिनको प्रयोगले अग्रपङ्क्तिमा रही कोभिड-१९ को प्रसार रोकथाम गर्न अथक रूपमा कार्यरत हाम्रा स्वास्थ्यकर्मीको सुरक्षा गर्नेछन् ।”

कोभिड-१९ को प्रसार नियन्त्रण गर्न युएसएआइडीका विश्‍वभर जारी प्रयासका ’boutमा थप बुझ्‍न यो लिङ्कमा क्लिक गर्नुहोस् ।