Flag

An official website of the United States government

कोभिड-१९ प्रतिकार्यस्वरूप अमेरिकाद्वारा नेपाललाई १०० थान भेन्टिलेटर प्रदान
1 MINUTE READ
नोभेम्बर 13, 2020

काठमाडौँ – २०७७ कार्तिक २८ गते अमेरिकी सरकारले आफ्नो अन्तर्राष्ट्रिय विकास नियोग (युएसएआईडी) मार्फत नेपाललाई कोभिड-१९ विरुद्धको लडाइँमा सघाउनका लागि १०० थान आधुनिक भेन्टिलेटर दान गरेको छ । ७० वर्षभन्दा लामो समयदेखि विपद्, द्वन्द्व र कठिन परिस्थिति लगायत जस्तोसुकै अवस्थामा पनि अमेरिका साझेदारीमार्फत नेपालको साथमा उभिँदै आएको छ । यसै सहकार्यलाई निरन्तरता दिँदै आज हामी नेपाली जनतालाई कोभिड-१९ महामारीको घडीमा सहयोग गरिरहेका छौँ ।

अमेरिका, विश्व र नेपालले कोभिड-१९ को बढ्दो सङ्क्रमणको सामना गर्दै गर्दा हाम्रा दुवै देशलाई अत्यन्त प्रभावित तुल्याएको यस महामारीविरुद्धको लडाइँमा अमेरिका नेपाली जनताको साथमा छ । गम्भीरमध्येका केही सङ्क्रमितमाथिको दवाबलाई सहज बनाउन मद्दत गर्नका लागि अमेरिकी सरकारले अति दुर्गम समुदायलाई समेत सघाउन अत्यन्त बहुउपयोगी भेन्टिलेटर प्रदान गर्दैछ । चुस्त, परिचालनशील यी उपकरणले नेपाललाई भाइरसबाट प्रभावित बिरामीको उपचारका निम्ति सुवाह्य लचिलोपना प्रदान गर्दछन् । फोक्सोले पर्याप्त काम नगर्ने समस्या भएका कोभिड-१९ का बिरामीका लागि यो महत्त्वपूर्ण साधनस्रोत जीवनरक्षाको माध्यम साबित हुनसक्छ ।

आजको कार्यक्रममा अमेरिकी राजदूत र्‍यान्डी बेरीले भन्नुभयो, “असल र खराब दुवै समयमा अमेरिका नेपालसँगको साझेदारीप्रति प्रतिबद्ध छ । यी भेन्टिलेटरमार्फत हामी नेपाली परिवारहरूलाई सघाउन चाहन्छौँ जसले गर्दा कोभिड-१९ बाट अति प्रतिभावित आफ्ना प्रियजनलाई मद्दत गर्नका लागि उनीहरू तयार रहन सकून् ।”

भेन्टिलेटरका अतिरिक्त युएसएआईडीका कार्यक्रमहरूले १1३ पालिका सम्पर्क पहिचान तथा सङ्क्रमण अनुसन्धान टोलीलाई सहयोग गरेका छन्, झन्डै २० लाख परिवारलाई टेलिफोनमार्फत परामर्श दिएका छन्, बन्दाबन्दीको समयमा ५ लाखभन्दा बढी परिवारका लागि गैरस्थलगत स्वास्थ्य परामर्श सञ्चालन गरेका छन्, ६० हजारभन्दा बढी खाद्य असुरक्षित परिवारको पहिचान गरी तिनलाई खाद्य सहयोग कार्यक्रमहरूसमक्ष सिफारिश गरेका छन् र कोभिड-१९ सम्बन्धी जनसञ्चार सन्देशका साथ १ करोड ४० लाखभन्दा बढी मानिसका माझ पुगेका छन् ।

यएसएआईडीले विशेष खालको भेन्टिलेटर सहयोग प्याकेजलाई समेत आर्थिक सहयोग गरिरहेको छ जसमा साथका उपकरण, सेवा योजना र प्राविधिक सहायता समावेश छन् । महामारीको प्रतिकार्यस्वरूप युएसएआईडीले नेपालमा प्रतिबद्धता गरेका सक्रिय परियोजनालाई प्रदान गरिएको २ करोड ८३ लाख अमेरिकी डलर (३ अर्ब ४० करोड रुपैयाँ) माथि यस दानले थप कार्य गरेको छ । नेपाल सरकारसँग समन्वय गर्दै जीवनरक्षा सहयोगका लागि समग्र-अमेरिका विधि उपलब्ध गराउने कार्यमा संयुक्त राज्य अमेरिका प्रतिबद्ध छ ।