Flag

An official website of the United States government

कोभिड-१९ प्रतिकार्यका लागि अमेरिकाद्वारा नेपाललाई थप ५५ लाख डलर सहायता प्रदान
2 MINUTE READ
जुन 9, 2020

२०७७ जेठ २६

काठमाडौँ – अमेरिकी अन्तर्राष्ट्रिय विकास नियोग (युएसइआईडी) मार्फत नेपालमा कोभिड-१९ सङ्क्रमणका सहायक प्रभावहरूको न्यूनीकरणका निम्ति थप ५५ लाख अमेरिकी डलरको नयाँ आर्थिक सहयोग घोषणा गर्न पाउँदा अमेरिकी सरकारलाई खुशी लागेको छ । यससँगै नेपाललाई अमेरिकी सरकारले उपलब्ध गराएको जम्मा कोभिड-१९ सहायता ७३ लाख डलर पुगेको छ ।

यस सहायतामार्फत युएसएआईडीले नेपालमा यस सङ्कटका सहायक प्रभावहरूलाई सम्बोधन गर्नका निम्ति नेपाल सरकारसँग सहकार्य गर्नेछ । विद्यमान् साझेदारीका जगमा थप कार्य गर्दै अति प्रभावित पालिकाहरूभित्रका अति जरुरी आवश्यकतालाई सम्बोधन गर्नका लागि खास गरी उक्त सहायता रकमले साना नेपाली व्यवसायहरूको आर्थिक पुनरोत्थानका निम्ति अत्यावश्यक वित्त परिचालन गर्नेछ । साथै, निजी क्षेत्रको लगानीबाट लाभ लिँदै उक्त सहायताले जोखिमयुक्त क्षेत्रमा स्थानीय सरकार तथा निकायहरूलाई कोभिड-१९ का आर्थिक-सामाजिक प्रभावसम्बन्धी मूल्याङ्कन, योजना तथा प्रतिकार्यसम्बन्धी कार्यमा सघाउनेछ । युएसएआईडीले स्थानीय स्तरीय जोखिम सञ्चार सञ्चालन, प्रयोगशाला प्रणालीको तयारी, केस पत्ता लगाउने कार्य तथा निगरानीको क्रियाशीलता र प्राविधिक विशेषज्ञहरूलाई प्रतिकार्य तथा पूर्वतयारीका निम्ति सहयोगका लागि समेत स्वास्थ्य सहायता प्रदान गरेको छ ।

युएसएआईडीको नयाँ कोभिड-१९ प्रतिकार्य सहायता घोषणा गर्दै अमेरिकी राजदूत र्‍यान्डी बेरीले भन्नुभयो, “सङ्कटको यस्तो घडी नै कुनै पनि साझेदारीको सच्चा सच्चा परीक्षा हो र यस कठिन घडीमा र त्यसपछिको समयमा समेत हामी अझै उत्थानशील, स्वस्थ, समृद्ध र आत्मनिर्भर नेपालको निर्माणप्रति प्रतिबद्ध छौँ ।”

अमेरिकाले नेपाल सरकारसँग ७० वर्षभन्दा लामो समयदेखि बलियो तथा सहकार्यमूलक साझेदारी गर्दै आइरहेको छ र यसमार्फत नेपालका कृषि, शिक्षा, स्वास्थ्य, शिक्षा तथा अन्य आर्थिक-सामाजिक क्षेत्रको विकासका सहयोगार्थ १ अर्ब ५० करोड डलरभन्दा बढीको सहायता उपलब्ध गराएको छ ।

विश्वव्यापी स्वास्थ्यको क्षेत्रमा दशकौँदेखि अमेरिका विश्वकै ठूलो द्विपक्षीय सहायता प्रदाताका रूपमा रहँदै आएको छ । सन् २००९ यता अमेरिकी करदाताले उदारतापूर्वक स्वास्थ्य सहायतास्वरूप १ खर्ब डलरभन्दा बढी सहयोग र मानवीय सहायतास्वरूप झन्डै ७० अर्ब डलर उपलब्ध गराएका छन् ।

युएसएआईडीको कोभिड-१९ प्रतिकार्यसम्बन्धी थप जानकारी यहाँ उपलब्ध छ : https://www.usaid.gov/coronavirus-covid-19

###