अमेरिकी विदेश मन्त्रालयको मानव बेचबिखनसम्बन्धी वार्षिक प्रतिवेदन सार्वजनिकीकरण समारोहमा नेपालकी सुनीता दनुवारलाई “टिप हिरो” अन्तर्राष्ट्रिय सम्मान

२०७५ असार १५

वाशिङ्टन – अमेरिकी विदेशमन्त्री माइकल आर. पोम्पेओ तथा अमेरिकी राष्ट्रपतिकी सल्लाहकार इभाङ्का ट्रम्पले अमेरिकी विदेश मन्त्रालयको मानव बेचबिखनसम्बन्धी वार्षिक प्रतिवेदन, २०१८ वाशिङ्टन डी.सी.मा संयुक्त रूपमा सार्वजनिक गर्नुभएको छ । उक्त प्रतिवेदनले आधुनिक दासत्वविरुद्ध सङ्‍घर्ष गर्न विश्‍वभरका सरकारहरूले गरेका प्रयत्‍नको मूल्याङ्कन गरेको छ । साथै, प्रतिवेदनले मानव बेचबिखनको प्रकृति र दायरासम्बन्धी अद्यावधिक, विश्‍वव्यापी दृष्टिकोण पनि प्रस्तुत गरेको छ ।

प्रतिवेदन सार्वजनिक गर्ने समारोहमा विदेशमन्त्री पोम्पेओले अमेरिकी विदेश मन्त्रालयका सन् २०१८ का टिप हिरो हरूलाई समेत सम्मानित गर्नुभएको छ । नेपालकी सुनीता दनुवार लगायत विश्‍वभरका १० व्यक्तिहरूलाई टिप हिरो अन्तर्राष्ट्रिय सम्मान प्रदान गरिएको छ । मानव बेचबिखनविरुद्धको सङ्‍घर्षमा आफ्नो जीवन समर्पित गरेका असाधारण व्यक्तिहरूको काम र उपलब्धिलाई उक्त सम्मानद्वारा कदर गरिन्छ । नेपालभरका पीडित तथा जोखिममा रहेका समुदायहरूलाई सेवा गर्ने प्रतिबद्धताका लागि सुनीता दनुवारलाई सम्मानित गरिएको हो । उहाँ मानव बेचबिखनविरुद्ध सक्रिय गैसस शक्ति समूहकी सह-संस्थापक तथा कार्यकारी निर्देशक हुनुहुन्छ । यस संस्थाले पीडितको दृष्टिकोण सकारात्मक बनाउने र विपन्न तथा ग्रामीण नेपाली समुदायहरूमा मानव बेचबिखनसम्बन्धी जनचेतना अभिवृद्धि गर्ने लगायतका कार्य गर्दछ । गम्भीर चुनौतीका बाबजुद पीडितको संरक्षण गर्ने, दोषीलाई सजाय दिलाउने र मानव बेचबिखन ’bout चेतना बढाउने दिशामा सुनीता दनुवारले आफ्नो अथक प्रयास जारी राख्‍नुभएकोमा अमेरिकी दूतावास उहाँलाई बधाई दिन चाहन्छ ।

अमेरिकी विदेशमन्त्री पोम्पेओले प्रतिवेदन सार्वजनिक गर्ने समारोहमा आफ्नो मन्तव्यका क्रममा भन्नुभयो, “विश्‍वमा आधुनिक दासत्वका निम्ति कुनै स्थान छैन । कूटनीतिक संलग्नता तथा बढ्दो कार्यवाहीमार्फत मैले आगामी वर्षहरूमा मानव बेचबिखन जस्तो विश्‍वव्यापी खतराविरुद्धको सङ्‍घर्षको अमेरिकी सरकारको नेतृत्वलाई दिगो बनाउने आसय लिएको छु ।

स्थानीय समुदायले सक्रिय रूपमा मानव बेचबिखनलाई सम्बोधन गर्ने प्रभावकारी तरिका के हुन् र तिनलाई राष्ट्रिय सरकारले कसरी सहयोग गर्न तथा सशक्त बनाउन सक्छ भन्ने विषयमाथि यस वर्षको प्रतिवेदन केन्द्रित छ । मानव बेचबिखन उन्मूलनको दिशामा नेपाल सरकारले प्रगति गरेको कुरा प्रतिवेदनमा जनाइएको छ । प्रतिवेदनमा भनिएको छ – मानव बेचबिखनको रोकथामका लागि नेपालले आफ्नो प्रयत्‍न बढाएको छ । साथै, कानुन कार्यान्वयन तथा पीडित संरक्षणसम्बन्धी प्रयत्‍नमा समेत केही सुधार भएको छ । मानव बेचबिखनको उन्मूलनका न्यूनतम अन्तर्राष्ट्रिय मापदण्ड पूरा गर्नका लागि नेपालले गर्नुपर्ने सुधारसम्बन्धी सिफारिस पनि प्रतिवेदनले प्रस्तुत गरेको छ । प्रतिवेदनमा सन् २००० को संयुक्त राष्ट्रसंघीय मानव बेचबिखनसम्बन्धी सन्धिमा नेपाललाई हस्ताक्षर गर्न सिफारिस गरिएको छ र यस गरेमा नेपालले मानव बेचबिखनविरुद्धको आफ्नो जारी प्रतिबद्धतासम्बन्धी बलियो सन्देश प्रवाह गर्नेछ भनिएको छ । पलेर्मो प्रोटोकल समेत भनिने उक्त राष्ट्रसंघीय सन्धिलाई विश्‍वका १७३ मुलुकले अनुमोदन गरिसकेका छन् ।

नेपाल सरकार र नेपाली जनताको मानव बेचबिखनविरुद्धको सङ्‍घर्षमा अमेरिकी दूतावास आफ्नो सहयोगलाई निरन्तरता दिन प्रतिबद्ध छ ।

मानव बेचबिखनसम्बन्धी प्रतिवेदन यहाँ उपलब्ध छ : https://www.state.gov/j/tip/rls/tiprpt/2018/index.htm

###