स्वस्थ्य नेपाल निर्माणमा संघीयता मौका

राजदूत अलाइना बी. टेपलेट्ज

विगत एकदशकमा नेपालीजनको स्वास्थ्यमा मातृ तथा बाल मृत्युदरमा कमी, घट्दो गम्भीर कुपोषणका साथै औसत आयुमा अर्थपूर्ण बढोत्तरीलगायतका चामत्कारिक सुधार देखिएको भए पनि स्वास्थ्यसेवा क्षेत्रमा अझै गम्भीर अन्तर विद्यमान छन् । संसारभरको स्वास्थ्य सेवास्तर मापनको सबैभन्दा उत्तम आधार मानिने पछिल्लो जनस्वास्थ्य सर्वेक्षणमा नेपालले प्रभावशाली उपलब्धि हासिल गरेको छ, तर सबै नेपाली विशेषगरी ग्रामीण समुदायको गुणस्तरीय स्वास्थ्यसेवामा पहुँच सुनिश्चित गर्नको लागि धेरै काम गर्न बाँकी नै रहेका छन् ।

न्यायोचित र सुलभ स्वास्थ्यसेवाप्रतिको मेरो अभिरूची मानवीय संवेगले मात्र उत्पन्न हुन गएको भने होइन, बरु सुलभ र न्यायोचित स्वास्थ्यसेवाबाट लाभान्वित स्वस्थ्य नागरिकले मात्र कुनै पनि देशको राजनीतिक तथा आर्थिक विकासमा पूर्ण योगदान गर्न सक्छन् भन्ने पक्का ज्ञानमा विश्वस्त भएर पनि हो । अनि स्वास्थ्यसेवाको क्षेत्रमा रहेका ती अन्तर कम गर्न संघीयताले एक अवसर प्रदान गर्छ ।

विशेषगरी देशको ग्रामीण तथा दुर्गम भेगमा रहेका असमानता, चाहे अत्यावश्यक स्वास्थ्य सेवाको गुणस्तरको होस् या पहुँचका सम्बन्धमा रहेको होस्, जनस्वास्थ्य सेवाका परिणाममा सुधार ल्याउने प्रक्रियाका दुई मुख्य तगारा यिनै हुन् । उदाहरणका लागि देशको पहाडी क्षेत्रमा बसोबास गर्ने ६२ प्रतिशत सुत्केरीले बच्चालाई जन्म दिएको दुई दिनभित्रै प्रसूती सेवा प्राप्त गर्ने भए पनि हिमाली क्षेत्रमा यो संख्या ४९ प्रतिशत छ ।

स्थानीय सरकारहरूले अहिले संघीयताले ल्याउने अवसरको उपयोग गर्दै थप समुदायकेन्द्रित तरीका अवलम्बन गर्न सकेमा केन्द्रीकृत रूपमा व्यवस्थापन गरिने दृष्टिरकोणबाट सम्भव भएभन्दा चाँडो यो असमानता हटाउन सक्छन् । यसको मतलब होस्—सम्भावित साझेदारका नयाँ आयाम खुल्नु, जनताले तिरेको कर रणनीतिक र पारदर्शी रूपमा उपयोग हुनु र स्थानीय नागरिकको आवश्यकताको उचित सम्बोधन गर्ने कार्यमा उहाँहरूलाई नै संलग्न गराइनु ।

अमेरिकामा पनि अन्य समस्यासँगै एकदमै ठूलो, मुख्य जनघनत्व भएका क्षेत्रबाहिरका ग्रामीण समुदायमा स्वास्थ्य सेवा पुर्‍याउँदा टन्नै समस्या सामना गर्दछौं । एकदमै मिहिन तवरले विकेन्द्रित र परिणामकेन्द्रित स्वास्थ्यसेवा पद्धतिको साथमा हामीले के पत्ता लगायौं भने सबै समस्यालाई मिल्ने कुनै एउटै समाधान सम्भव छैन । राज्यहरूले कुनै एक समस्यालाई कसरी सामना गर्छन् भन्ने एक उदाहरण दिनुपर्दा मिसिसिपीका ग्रामीण समुदायले प्राविधिक संस्थासँगको साझेदारीमा स्वास्थ्य केन्द्रसम्म पुग्न नसक्ने बिरामीका लागि टेलिमेडिसिन सुबिधा उपलब्ध गराउनु भएको छ । अन्य क्षेत्रमा स्वास्थ्य बीमा नगर्नु भएका व्यक्तिसम्म पुग्न लघु-बीमामार्फत ग्रामीण व्यक्तिहरूका लागि कम लागतका विकल्प उपलब्ध गराउनेजस्ता नविननतम् तरिका प्रयोग भएको देख्न सकिन्छ ।

आफ्नो बिल्कुलै फरक संघीय पद्धतिको साथमा अमेरिका नेपालीका लागि एक प्रिज्म हो, जसमार्फत भविष्यमा ग्रामीण र अन्य क्षेत्रका बासिन्दाका लागि कसरी सुधारिएको स्वास्थ्यसेवा पुर्‍याउने भन्ने उपाय हेर्न सकिन्छ । अमेरिका र नेपालले गएको ७० वर्षमा एक न्यानो तथा उत्पादनशील द्विपक्षीय सम्बन्धको अनुभव गरेका छौं । अमेरिकी सरकारले नेपाललाई सुधारिएको जनस्वास्थ्य सेवा हासिल गर्न थुप्रै सफल योगदान दिएको छ । केही उत्कृष्ट तरिका यहाँबाटै सुरुवात गरिएका थिए—कम उमेरका बच्चाको स्वास्थ्य सुधारका लागि भिटामिन ‘ए’ सामग्रीको वितरणदेखि शिशुको मृत्यु कम गर्ने क्लोरहेक्सिडाइनजेलकोको प्रयोग गर्नेसम्म जस्ता उपाय संसारले अवलम्बन गरेको छ र त्यसबाट लाखौं जीवन बचाइएका छन् ।

अब नेपालको साथै हाम्रो पनि दृष्टिकोण परिवर्तन हुन जरुरी भइसकेको छ ’cause यो देश विकेन्द्रीकरणतर्फ पाइला बढाउँदैछ । उदाहरणका लागि नवनिर्वाचित स्थानीय तथा प्रादेशिक प्रतिनिधिसँग आफ्नो समुदायका आवश्यकताको विषयमा गहिरो अनुभूति छ । नेपालको संविधानअनुसार स्थानीय रूपमा निर्वाचित प्रतिनिधिलाई आफ्नो क्षेत्रका बासिन्दाको स्वास्थ्य तथा जीवनस्तर सुधार गर्नेगरी कार्यक्रम, लगानी र नीतिसम्बन्धी महत्वपूर्ण निर्णय गर्ने अधिकार प्राप्त छ ।

त्यसैले विकेन्द्रित बजेट र नीतिसम्बन्धी व्यवस्थाले गाउँ तथा नगरपालिकालाई आफ्ना समुदायका सबैभन्दा ज्वलन्त स्वास्थ्य आवश्यकताको पहिचान गर्न, ती आवश्यकताअनुसारका कार्यक्रम निर्धारण गर्न र स्वास्थ्यमा खर्च भएको रकमको कुल असर वृद्धि गर्न अवसर दिनेछ ।

नेपालले स्वास्थ्यसेवा सुधार गर्न साह्रै टाढा हेर्नु पर्दैन । नेपालले आफैं स्वास्थ्य शिविर, अनमी र सुडेनी तथा महिला स्वास्थ्य स्वयंसेविकालगायत कार्यक्रमको सुरुवात गरी सीमान्तकृत समूहसम्म पहुँच वृद्धि गर्ने कार्यक्रमको सफल परीक्षण गरिसकेको छ ।

यस्तै दृष्टिकोणहरूको प्रयोगबाट निजी क्षेत्र, नागरिक समाज तथा दातृ निकायसँग अझै बलियो साझेदारीको विकास गर्दै परिणाममा थप सुधार ल्याउन सकिन्छ । नेपालले भोगिरहेका स्वास्थ्यसम्बन्धी समस्या समाधानको एकमात्र स्रोत सरकार होइन । नेपालमा हुन गइरहेको बृहत विकेन्द्रीकरणको पूर्वसन्ध्यामा स्थानीय समुदायले स्वास्थ्यसेवाको भविष्य समतापूर्ण र प्रभावकारी बनाउन नयाँ तवरका साझेदारसँग काम गर्ने यो अवसरलाई गम्भीरतापूर्वक लिनुपर्छ ।

नेपालीले चाहेको र उचित हुनेजस्तो जनस्वास्थ्यसम्बन्धी परिणाम दिलाउने अभिभारा अब सोही समुदायकै काँधमा छ, जो बीस वर्षपछि पहिलो पटक आफैं शासन गर्न अघि सरेको छ । म उहाँहरू सबैलाई संघीयतातर्फको संक्रमणलाई आफ्नो समुदायमा सेवा पुर्‍याउने अवसरका रूपमा प्रयोग गर्न आग्रह गर्दछु, यति गरेमा मात्रै सबै नेपालीको भविष्य स्वस्थ्य र थप समृद्ध बन्ने सुनिश्चित हुनेछ ।

प्रकाशित : अन्नपूर्ण पोस्ट, कात्तिक १४, २०७४