पुनर्वासका निम्ति अमेरिका प्रस्थान गर्ने ९०,०००औँ शरणार्थीलाई अमेरिकी राजदूतद्वारा बिदाइ

२०७३ असोज ४

काठमाडौँ – नेपालका लागि अमेरिकी राजदूत अलाइना बी. टेपलेट्जले संयुक्त राज्य अमेरिकामा पुनर्वास हुन गइरहेकी ९०,०००औँ भुटानी शरणार्थी सरीमाया ठटाललाई आज भेटी बिदाइ गर्नुभयो । अमेरिकाको न्यू ह्याम्पशियरमा नयाँ जीवनको थालनी गर्नका लागि ठटाल आफ्ना चार सन्तानका साथ नेपालबाट भोलि प्रस्थान गर्दै हुनुहुन्छ । राजदूत टेपलेट्जले गत साता झापास्थित बेलाडाँगी भुटानी शरणार्थी शिविरको भ्रमण गरी तेस्रो मुलुक पुनर्वास कार्यक्रमको विषयमा छलफल गर्नुभएको थियो । सो कार्यक्रम अब समापनको नजिक पुगेको छ ।

“नेपाली जनता र सरकारले दशकौँदेखि अत्यन्त कृपापूर्वक शरणार्थीहरूलाई आतिथ्य सत्कार प्रदान गर्दै आएका छन् र भुटानी शरणार्थीहरूको तेस्रो मुलुक पुनर्वास हालैका वर्षहरूमा अत्यधिक सफल शरणार्थी व्यवस्थापन विधिमध्ये एक बनेको छ,” उहाँले भन्नुभयो । “तर यो बृहत् पुनर्वास कार्यक्रम समापन हुनै लागेको छ । स्वदेश फर्कन चाहने शरणार्थीहरूलाई फिर्ता लिनका लागि अन्तर्राष्ट्रिय समुदायले भुटान सरकारसँग आग्रह गरिरहेको भए तापनि नेपालमै बाँकी रहने शरणार्थीहरूका लागि दीर्घकालीन समाधान पत्ता लगाउनु अति महत्त्वपूर्ण छ ।”

अमेरिकी दूतावासमा आयोजित समारोहमा २० वर्षभन्दा लामो अवधि शरणार्थी शिविरमा बिताएकी ठटालले संयुक्त राज्य अमेरिका पुगेपछि आफू र आफ्ना सन्तानका लागि नयाँ अवसरका आशाका ’boutमा बताउनुभयो । अन्तर्राष्ट्रिय आप्रवासी सङ्गठन (आईओएम) का नियोग प्रमुख पल नर्टन र शरणार्थीसम्बन्धी राष्ट्रसंघीय उच्चायुक्तको कार्यालय (युएनएचसीआर) का लागि नेपाल प्रतिनिधि केभिन एल्लेनले राजदूत टेपलेट्जलाई ठटालको बिदाइमा साथ दिनुभयो । संयुक्त राज्य अमेरिकामा ९०,००० भुटानी शरणार्थी पुगेसँगै तेस्रो मुलुकमा पुनर्वासमा गएका भुटानी शरणार्थीहरूको कुल सङ्ख्या १ लाख ५ हजार पुगेको छ ।

संयुक्त राज्य अमेरिकाले नेपाल सरकार, युएनएचसीआर, आईओएम तथा अष्ट्रेलिया, क्‍यानडा, डेनमार्क, नेदरल्यान्ड्स, न्यूजिल्याण्ड, नर्वे र बेलायतका सरकारहरूसँगको समन्वयमा पूर्वी नेपालमा बसोबास गर्दै आइरहेका भुटानी शरणार्थीहरूलाई सन् २००७ देखि पुनर्वास गराउन थालेको हो ।

###