नेपालसम्बन्धी भ्रमण चेतावनी अमेरिकाद्वारा खारेज

२०७२ फागुन १८ 

अमेरिकी विदेश मन्त्रालयले आफ्नो नेपालसम्बन्धी भ्रमण चेतावनी हिजो खारेज गरेको छ ।

नेपालसम्बन्धी २०७२ असोज २१ गते जारी गरिएको भ्रमण चेतावनीले गोरखा भूकम्पपछिको भौगर्भिक अस्थिरताका साथै वर्षा ऋतु, तराईमा विद्यमान तनाव र देशव्यापी इन्धन अभावलाई प्रतिविम्बित गरेको थियो । यी अवस्थाहरूमा परिवर्तन भइसकेकाले २०७२ फागुन १७ गतेबाट लागु हुने गरी उक्त भ्रमण चेतावनी खारेज भएको छ ।

अमेरिकी विदेश मन्त्रालयले अमेरिकी यात्रीहरूका प्रयोजनका लागि नेपाल लगायत विश्‍वका हरेक देशका निम्ति स्थानीय अवस्था र जोखिमहरूको वर्णनसहितका निश्‍चित देशीय सूचना पत्रहरू प्रकाशित गर्दछ । कुनै देशमा भ्रमण गर्नका लागि उल्लेखनीय जोखिम रहको खण्डमा अमेरिकी विदेश मन्त्रालयले भ्रमण चेतावनी जारी गर्नसक्छ । अमेरिकी विदेश मन्त्रालयको नेपालसम्बन्धी देशीय सूचना पत्रमा अझै पनि अद्यावधिक भ्रमण जानकारी पाउन सकिन्छ ।

###