संघीय निर्वाचनका बेला अमेरिका बाहिर हुने १८ वर्ष उमेर पुगेका सबै अमेरिकी नागरिकले दूरवासी मतदान (एब्सेन्टी भोटिङ) गर्न पाउँछन् । धेरैजसो राज्यहरूले आफ्ना विदेशमा रहेका मतदातालाई राज्य र स्थानीय स्तरका निर्वाचन र जनमत संग्रहमा भोट हाल्न दिन्छन् ।
मतदाताको योग्यता र बसोबासको मापदण्ड पुरा भए नभएको निर्धारण हरेक राज्यले आफ्नै तरिकाले गर्छन् । विदेशमा रहेका मतदाताले सूचीमा आफ्नो नाम दर्ता गरी मतपत्र लिनुपर्छ र मतदान गरिसकेपछि मतपत्रलाई राज्यको स्थानीय अधिकारीकहाँ बुझाउनुपर्छ । फेडेरल भोटिङ असिस्ट्यान्स प्रोग्राम (एफ.भी.ए.पी.) ले मतदानसम्बन्धी सबैजसो सूचना एकै ठाउँबाट दिने प्रयास गरेको छ, तैपनि राज्यहरूले मतदानको अलगअलग व्यवस्था गरेका हुन सक्छन् । फेडेरल भोटिङ असिस्ट्यान्स प्रोग्रामको वेबसाइटमा मतदानसम्बन्धी सूचना पाइन्छ । तर आफ्नो राज्यको मिलिटरी र वैदेशिक मतदानसम्बन्धी वेबसाइटमा गई जानकारी हासिल गर्नु अझ सहज हुन्छ । प्रायः सम्बन्धित जानकारी राज्यहरूको सेक्रेटरी अफ स्टेट वा निर्वाचन आयोगको वेबसाइटमा राखिएको हुन्छ । यसका लागि तल दिइएका लिङ्कहरू उपयोगी हुनेछन् ।
मतदाता नामावली र दूरवासी मतदान (एब्सेन्टी भोटिङ)
मतदाता नामावली र दूरवासी मतदान (एब्सेन्टी भोटिङ) सम्बन्धी निर्णय सम्बन्धित राज्यहरूले नै गर्छन् । कृपया आफ्नो राज्यको प्रमुख निर्वाचन कार्यालयमा सम्पर्क गरी प्रक्रियाको ’boutमा बुझ्नुहोला र उपयुक्त फारम गर्नुहोला । फेडेरल पोष्ट कार्ड एप्लिकेशन (एफ.पी.सी.ए.) प्रयोग गरेर पनि नाम दर्ता र/वा एब्सेन्टी भोटिङका लागि आवेदन दिन सकिनेछ । एफ.पी.सी.ए. फारम फेडेरल भोटिङ असिस्ट्यान्स प्रोग्रामको वेबसाइटबाट निकाल्न सकिनेछ । यो फारम काठमाडौंस्थित अमेरिकी दूतावासबाट पनि लिन सकिनेछ । फारम राम्रो बुझिनेगरी भरेर हस्ताक्षर र मिति राखी आफ्नो राज्यको स्थानीय निर्वाचन अधिकारीलाई बुझाउनुपर्छ । प्रायः सबै राज्यमा एफ.पी.सी.ए. फारम हुलाकबाट पठाउनुपर्छ । केही राज्यले चाहिँ कार्यवाहीलाई शीघ्रता दिन फ्याक्स वा ईमेलबाट पनि फारम लिन्छन् ।
- नोट : एफ.पी.सी.ए. फारम आफ्नो स्थानीय निर्वाचन अधिकारीसमक्ष हरेक वर्ष पठाउनुपर्छ । तपाईंले विगतमा विदेशबाट मतदान गरेको भए पनि पठाउनुपर्छ । त्यस्तै, तपाईं आफ्नो नाम, ठेगाना, वा ईमेल परिवर्तन गर्नुहुन्छ भने हरेक पटक यो फारम भरेर पठाउनुपर्छ ।
सामान्यतया आफूले मतदान गर्न पाइने निर्वाचनभन्दा कम्तीमा पैंतालीस दिनअघि स्थानीय निर्वाचन अधिकारीले पाउने गरी मतदाता नामावली सूची दर्ता र एब्सेन्टी भोटिङ्गका लागि आवेदन पठाउनुपर्नेछ । यसो गर्दा उनीहरूले तपाईंको आवेदनउपर कार्यवाही गर्न पर्याप्त समय पाउँछन् । धेरै राज्यहरूले विदेशमा रहेका मतदातालाई इलेक्ट्रोनिक माध्यम प्रयोग गरी ईमेल वा आधिकारिक वेबसाइटमार्फत मतपत्र उपलब्ध गराउँछन् भने कतिपयले अझै पनि हुलाकमार्फत मात्रै पठाउँछन् ।
तपाईंले मतदाता नामावली सूची दर्ता र एब्सेन्टी भोटिङ्गका लागि आवेदन तथा मतदान गरिएको एब्सेन्टी मतपत्र काठमाडौंस्थित अमेरिकी दूतावासमा पनि बुझाउन सक्नुहुनेछ । विदेशमा रहेका आफ्ना नागरिकको सुविधाका लागि अमेरिकी सरकारले एब्सेन्टी भोटिङ्गको प्रक्रिया सहज बनाउन यो सुविधा दिएको हो । आवेदन र मतपत्र कन्सुलर शाखाको सेक्युरिटी चेकप्वाइन्ट भवनभित्रको बाकसमा खसाल्नुहोला । दूतावासले डिप्लोम्याटिक पाउच प्रयोग गरी ती कागजात अमेरिकाको भर्जिनियास्थित युनाइटेड स्टेट्स पोस्टल सर्विस (यु.एस.पी.एस.) मा पठाउँछ । उक्त पत्र यु.एस.पी.एस. को प्रणालीमार्फत सम्बन्धित ठाउँमा पुग्छ । यो प्रक्रियाबाट स्थानीय निर्वाचन अधिकारीकहाँ तपाईको पत्र पुग्न करिब तीन हप्ता लाग्छ । खामबाहिर आवश्यक हुलाक टिकट टाँस्नुहोला र पाउने तथा पठाउनेको ठेगाना राम्रोसँग उल्लेख गर्नुहोला । यसरी डिप्लोम्याटिक मेल प्रयोग गर्दा पनि अमेरिकाको हुलाकबाट पठाउँदा जस्तै आवश्यकताअनुसार टिकट टाँस्नुपर्छ । तपाईंको राज्यले टिकटको खर्च पहिल्यै तिरीसकेको खाम उपलब्ध गराएको छ भने चाहिँ अतिरिक्त टिकट टाँस्नु पर्दैन ।
तपाईंलाई मतदानसम्बन्धी केही जिज्ञासा भए काठमाडौंस्थित अमेरिकी दूतावासका मतदान सहयोग अधिकारीलाई ईमेल VoteKathmandu@state.gov मार्फत सम्पर्क गर्नुहोला ।
(Updated May 2018)