अमेरिकी दूतावास र एसियाली विकास बैंकद्वारा भूकम्पबाट क्षति भएका १५ विद्यालयको पुनर्निर्माणसम्बन्धी सहमतिमा हस्ताक्षर

२०७३ पुष १

काठमाडौँ – अमेरिकी दूतावास र एसियाली विकास बैंकले भूकम्पबाट अति प्रभावित ११ जिल्लामा भूकम्पद्वारा क्षति पुगेका १५ विद्यालयको पुनर्निर्माणका लागि हिजो एक सहमतिमा हस्ताक्षर गरेका छन् । सो पुनर्निर्माणबाट ४ हजार ५ सय जना विद्यार्थी लाभान्वित हुनेछन् ।

सहमति बमोजिमको १ करोड अमेरिकी डलर रकम प्रयोग गरी एसियाली विकास बैंकले आफ्नो भूकम्प आपतकालीन सहायता परियोजनामार्फत विद्यालयहरूको पुनर्निर्माण गर्नेछ । परियोजनाले स्थायी र भूकम्प प्रतिरोधी भवन निर्माणका लागि स्वीकृत वास्तुकला तथा इन्जिनियरिङ डिजाइनको प्रयोग गर्नेछ । कक्षाकोठामा फर्निचरको व्यवस्था गरिनेछ भने छात्रछात्राका लागि बेग्लाबेग्लै शौचालय निर्माण गरिनेछ । साथै अपाङ्गता भएका बालबालिकाका लागि अपाङ्गमैत्री सुविधा र मनोरञ्‍जनका सुविधाको व्यवस्था गरिनेछ ।

“यस सहयोगले अर्को पुस्ताका लागि अझ सुरक्षित र समृद्ध मुलुक निर्माण गर्ने कार्यमा नेपाली जनतालाई साथ दिने अमेरिकी सरकारको प्रतिबद्धतालाई पुनर्पुष्टि गर्दछ,” युएसआईडीका कार्यवाहक मिसन निर्देशक एमी टोहिल-स्टलले भन्नुभयो ।

२०७२ सालको भूकम्पबाट ८ हजार २ सयभन्दा बढी सरकारी तथा निजी विद्यालयमा क्षति पुगी लगभग २० लाख बालबालिकाको पढाइ अवरुद्ध भएको छ । भूकम्पपछि हालसम्म अमेरिकी सरकारले राहत र पुनर्निर्माण सहायतास्वरूप १७ करोड डलरभन्दा बढी रकम उपलब्ध गराएको छ । सोही सहयोगअन्तर्गत भूकम्पको लगत्तै १ हजारभन्दा बढी अस्थायी सिकाइ केन्द्रको निर्माणका लागि ५० लाख अमेरिकी डलर प्रदान गरिएको थियो, जसले गर्दा झन्डै २ लाख ७० हजार बालबालिका विद्यालय फर्कन सक्षम भएका थिए ।

###