काठमाडौँ – नेपालस्थित अमेरिकी दूतावासले आज व्यवसायी तथा सरकारी नेतृत्वकर्ताहरूका साथ नेपालमा दिगो आर्थिक विकास प्रवर्द्धन गर्नेसम्बन्धी कार्यशाला गोष्ठीको आयोजना गरेको छ । छलफल गरिएका विषय नेपालको व्यावसायिक वातावरण र लगानीसम्बन्धी नीतिगत पहलहरूमा केन्द्रित थिए । कार्यक्रममा उद्यमी, कार्यकारी पदाधिकारी, व्यावसायिक सङ्घका प्रतिनिधि, विकास संस्था, प्रबुद्ध समूह तथा सरकारी अधिकारीलगायतका नेपालको दिगो आर्थिक विकास प्रवर्द्धनसँग सम्बद्ध सरोकारवालाहरूको उपस्थिति थियो । उक्त कार्यक्रमले काठमाडौँस्थित अमेरिकी दूतावासलाई नेपालमा अमेरिकाको बढ्दो व्यावसायिक लगानी र संलग्नताप्रति समर्थन प्रदर्शन गर्ने अवसर पनि प्रदान गरेको थियो ।
कार्यक्रममा दूतावासका कार्यवाहक राजदूत म्यानि पी. मिक्कलर, नेपाल राष्ट्र बैङ्कका गभर्नर महाप्रसाद अधिकारी र उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव अर्जुन पोखरेलले स्वागत मन्तव्य प्रस्तुत गर्नुभएको थियो ।
“अन्य धेरै देशहरू जस्तै नेपालको आर्थिक विकासमा पनि परिवर्तनको प्रमुख संवाहक निजी क्षेत्र हो जसले रोजगारी सृजना गर्छ र राष्ट्रिय आयमा सर्वाधिक योगदान पुर्याउँछ,” कार्यवाहक राजदूत म्यानि पी. मिक्कलरले भन्नुभयो । “त्यसबाहेक निजी क्षेत्रले उदाहरण प्रस्तुत गरी नेतृत्व गर्दछ – जिम्मेदारी र समावेशिताजस्ता मूल्यहरू प्रदर्शन गर्दै र नेपालका सबै समुदायको उत्थान गर्ने सकारात्मक प्रभाव पार्दै ।”
सो कार्यक्रमले नेपालमा नयाँ र द्रुत गतिमा विकास हुँदै गरेको र अमेरिका-नेपालबिचको व्यापार तथा लगानी सम्बन्धलाई टेवा पुर्याउन प्रयासरत नेपालस्थित अमेरिकी वाणिज्य सङ्घ (AmCham Nepal) माथि पनि प्रकाश पारेको थियो ।