अमेरिकी दूतावासद्वारा दक्षिण तथा मध्य एसियाली क्षेत्रीय नमूना राष्ट्रसंघीय सम्मेलनको आयोजना

२०७३ साउन ३१

काठमाडौँ – नेपालका लागि अमेरिकी राजदूत अलाइना बी. टेपलेट्जले आज दक्षिण तथा मध्य एसियाली विश्‍वविद्यालय स्तरीय क्षेत्रीय नमूना राष्ट्रसंघीय सम्मेलनको उद्‍घाटन गर्नुभएको छ । अमेरिकी दूतावासले वैचारिक युवा समाजसँगको साझेदारीमा आयोजना गरेको उक्त सम्मेलनमा दक्षिण तथा मध्य एसियाका २०० प्रतिनिधि भेला भएका छन् । सम्मेलनमा उनीहरूले हिंसात्मक अतिवादविरुद्ध सङ्‍घर्ष, अभिव्यक्ति स्वतन्त्रताको सुनिश्‍चितता, जलवायु परिवर्तन अनुकूलन र वैदेशिक कामदारको मानव अधिकार प्रवर्द्धन लगायतका बहुपक्षीय विषयवस्तुहरूमा छलफल गर्नेछन् ।

सम्मेलनको उद्‍घाटन मन्तव्यका क्रममा राजदूत टेपलेट्जले भन्नुभयो, “यस नमूना राष्ट्रसंघीय सम्मेलन जस्ता कार्यक्रममार्फत सम्बन्ध विस्तार गर्नु भनेको दक्षिण तथा मध्य एसियाका मुलुकहरूबीच सम्बन्ध स्थापित गर्ने महत्त्वपूर्ण तरिका हो । संयुक्त राज्य अमेरिका यस प्रकारका सम्बन्ध स्थापनालाई प्रोत्साहन दिन पाउँदा गौरवान्वित छ । उद्‍घाटन समारोहमा मलेसियाका लागि पूर्व नेपाली राजदूत ऋषिराज अधिकारी र युएनडिपी नेपालका तर्फबाट राष्ट्रिय सुचना अधिकृत राम बाबु शाह लगायतका वक्ताले सम्बोधन गर्नुभएको थियो ।

आगामी पाँच दिनमा सम्मेलनमा आर्थिक तथा सामाजिक परिषद्, राष्ट्रसंघीय वातावरणीय कार्यक्रम, राष्ट्रसंघीय सुरक्षा परिषद् र सामाजिक, सांस्कृतिक तथा मानवीय समिति गरी संयुक्त राष्ट्रसंघका चार समितिको अभ्यास गरिनेछ । प्रतिनिधिहरूले जलवायु परिवर्तन तथा सीमापार जलस्रोत व्यवस्थापन लगायतका वास्तविक जीवनका विषयवस्तुसम्बन्धी व्यापक छलफलमा सरिक हुनुका साथै सम्मेलनमा एक आपसमा सम्बन्ध विस्तार गर्ने अवसर गर्ने अवसर प्राप्त गर्ने छन्। यस्का  साथै दक्षिण तथा मध्य एसिया क्षेत्रको समृद्ध संस्कृति तथा विविधताको सम्मानार्थ “ग्लोबल भिलेज” जस्ता कार्यक्रममा समेत समावेश हुनेछन् ।

नमूना राष्ट्रसंघ 

नमूना राष्ट्रसंघ संयुक्त राष्ट्रसंघको शैक्षिक अनुकरण अभ्यास हो, जसले सहभागी विद्यार्थीहरूलाई नागरिक शिक्षा, प्रभावकारी सञ्‍चार तथा बहुपक्षीय कूटनीतिका विषयमा शिक्षित बनाउँछ । नमूना राष्ट्रसंघीय सम्मेलनमा विद्यार्थीहरूले खास राष्ट्रसंघीय समितिहरूमा कार्यरत विभिन्न मुलुकका प्रतिनिधिहरूको भूमिकामा अभिनय गर्दछन् । आफूले प्रतिनिधित्व गर्ने मुलुकका वास्तविक हित र नीतिगत धारणाका आधारमा सहभागीहरूले विषयवस्तुहरूसम्बन्धी अध्ययन-अनुसन्धान गर्दछन् र सहमतिका धारणा तय गर्दछन् । 

वैचारिक युवा समाज

सन् २०१४ मा स्थापित वैचारिक युवा समाज युवाहरूद्वारा सञ्‍चालित एक गैरमुनाफामूलक, गैरसरकारी तथा गैरराजनीतिक संस्था हो । वैचारिक युवा समाजको ध्येय सक्रिय सहभागिता तथा संलग्नताको माध्यमबाट युवाहरूका लागि नेतृत्व विकास प्रदान गर्नु हो ।

###