अमेरिकी दूतावासद्वारा नयाँ “बुकटुक” घुम्ती पुस्तकालय सुरु

२०७३ साउन १४

काठमाडौँ – अमेरिकी दूतावासले डिल्लीबजारस्थित पद्मकन्या उच्च माध्यमिक विद्यालयबाट नयाँ विद्युतीय घुम्ती पुस्तकालय सुरु गरेको छ । “बुकटुक” अमेरिकी दूतावासको घुम्ती पुस्तकालय (बुकबस) हरूको समूहमा सबैभन्दा नयाँ सदस्य हो । अमेरिकी राजदूत अलाइना बी. टेप्लेट्ज र अमेरिकी विदेश मन्त्रालयस्थित अन्तर्राष्ट्रिय सूचना कार्यक्रम (आईआईपी) सम्बन्धी ब्युरोका संयोजक मेकन फिलिप्सले आज एक समारोहका बीच बुकटुकको उद्‍घाटन गर्नुभयो ।

विद्युतीय सफा टेम्पोलाई नयाँ रूप दिइएको बुकटुकमा सौर्य ऊर्जाबाट चल्ने ताररहित इन्टरनेट सेवा समेत उपलब्ध छ । सानो आकारको भएको हुँदा बुकटुक काठमाडौँ उपत्यकाका भित्री सहरी क्षेत्रहरूमा पुग्न सक्छ । इन्टरनेट सुविधा उपयोग गरेर बुकटुकका पाठकहरू शैक्षिक वेबसाइटमा जान सक्छन् र कम्प्युटर प्रविधि प्रयोग गर्न सिक्छन् । स्वच्छ ऊर्जाको माध्यमबाट सञ्‍चालित बुकटुकले वातावरणमा नकारात्मक प्रभाव पार्ने छैन भने साँघुरा सडक तथा घुम्तीका कारण बुकबस पुग्न नसकेका क्षेत्रमा समेत पुग्न सक्नेछ ।

“नेपालमा रहेका हाम्रा अमेरिकन स्पेसेहरूको समूहमा बुकबसलाई परिचित गराउन पाउँदा मलाई खुशी लागेको छ,” संयोजक मेकन फिलिप्सले भन्नुभयो । “वातावरणीय क्षतिलाई न्यून गर्न हामी सबैले सानो तर अर्थपूर्ण कदम चाल्न सक्छौँ र त्यस दिशामा बुकटुक हाम्रो त्यही सानो कदम हो,” राजदूत टेपलेट्जले भन्नुभयो ।

बुकटुक परियोजनामार्फत अमेरिकी दूतावासले कलिलो उमेरका पाठकहरूका लागि नेपाली र अङ्ग्रेजी दुवै भाषाका पुस्तकहरू अनुदान स्वरूप उपलब्ध गराउनेछ । यसको लक्ष्य कलिलो उमेरका व्यक्तिहरूलाई पुस्तक पढ्न प्रेरित गर्नु, अमेरिकी संस्कृति ’bout जानकारी आदानप्रदान गर्नु र उनीहरूको अङ्ग्रेजी भाषामा सुधार गराउनु हो । बुकटुक र बुकबस परियोजना नेपालभर अमेरिकी दूतावासद्वारा प्रायोजित अमेरिकन स्पेसहरूको सञ्‍जाल अन्तर्गत पर्दछन् ।

###