अमेरिकी राजदूतावासद्वारा ६ नयाँ ईङ्गलिस एक्सेस कार्यक्रमहरु आरम्भ

२०७३, मंसिर १७

अमेरिकी राजदूतावास काठमाडौंले नेपालमा काठमाडौं लगायत दाङ, जनकपुर, गुल्मी, धादिङ, र बाँके गरी ६ स्थानमा नयाँ ईङ्गलिस एक्सेस माईक्रोस्कोलरशिप कार्यक्रमहरु आरम्भ गरेको छ । नेपालका लागि अमेरिकी राजदूत अलाइना बी. टेपलेट्जले आज स्वयम्भुस्थित न्यामग्याल निम्न माध्यामिक बोर्डिङ स्कुलमा ईङ्गलिस एक्सेस कार्यक्रमको उदघाटन गर्नुभयो ।

एक्सेस कार्यक्रमले आर्थिक रुपमा बिपन्न क्षेत्रका १३ देखी १६ बर्ष सम्मका मेधाबी बिद्यार्थीहरुलाई अंग्रेजी भाषा शिपको आधार प्रदान गर्दछ ।  दुई बर्ष लामो स्कुल समय पछिको एक्सेस कक्षा र गहन सिकाईको दौरानमा कार्यक्रमले सहभागी बिद्यार्थीहरुलाई राम्रो रोजगारको अबसर र शैक्षिक दृष्टिकोण हुनेगरी अंग्रेजीको शिप हासिल गर्न मद्दत गर्दछ।  सहभागी बिद्यार्थीहरुले भबिष्यमा अमेरिकी शैक्षिक आदान-प्रदान कार्यक्रममा प्रतिष्पर्धा गर्ने, सहभागी हुने र अमेरिकामा अध्ययन गर्न सक्ने क्षमता प्राप्त गर्दछन ।

सो अवसरमा अमेरिकी राजदूत अलाइना बी. टेपलेट्जले भन्नुभयो, “एक्सेस कार्यक्रमले अंग्रेजी भाषा शिपका साथै अमेरिकी र नेपाली संस्कृतिहरुमा जोड दिने गर्दछ । र यसले बिद्यार्थीलाई वृत्ति विकास, सामुदायिक सेवा, कम्पुयटर शिप, समालोचनात्मक दृष्टिकोण र नेतृत्व शिपका साथै उनीहरुलाई मानव अधिकार र लैङ्गिक समानता सम्बन्धी शिक्षा पनि प्रदान गर्दछ ।  हरेक एक्सेस कक्षामा दश महिला र दश पुरुष बिद्यार्थी हुनुका साथै शिक्षक कर्मचारीको संख्यामा पनि लैङ्गिक समानता रहन्छ । यो एउटा यस्तो कार्यक्रम हो, जसबाट हामी साच्चै नै गौरवान्वित छौ।“

नेपालमा यो कार्यक्रमको कार्यान्वयनकारी संस्था नेपाल ईङगलिस ल्याङ्ग्वेज टिचर्स एसोसिएसन (नेल्टा) ले हाल ९ वटा स्थानमा यस कार्यक्रम संञ्चालन गरिरहेको छ । अन्य दुई संस्था हिमालयन रुट्स टु फ्रुटस् र हिमालयन सोसाईटी फर यूथले पनि एक-एक कार्यक्रम सञ्चालन गरिरहेका छन् । एक्सेस कार्यक्रम हाल ४४० बिद्यार्थीहरुमा पुगिरहेको छ भने कार्यक्रमले २०६८ मा शुरू भएयता लगभग ६०० बिद्यार्थीहरु उत्पादन गरिसकेको छ ।

“मलाई एक्सेस कार्यक्रमको सबैभन्दा बढी मनपर्ने पक्ष भनेको यसले बिद्यार्थीहरुलाई आफनो क्षमता बुझी आफनो साथसाथै समुदायको परिस्थिती सुधार गर्ने सहयोग गर्दछ” नेल्टाका एक्सेस कार्यक्रम संयोजक कुञ्जारमणि गौतमले भन्नुभयो । “हाम्रा शिक्षकहरुले प्रयोग गर्ने बिद्यार्थी केन्द्रित र सामाग्रीमा आधारित भाषा शिक्षण शैलीले एक्सेस बिद्यार्थीलाई प्रेरित गर्न सफल भएको छ । यो विस्तृत सहयोगका कारण हाम्रा लगभग शतप्रतिशत एक्सेस बिद्यार्थी एसएलसीमा उतीर्ण हुन्छन् ।“

२०६१ बाट शुरू भएयता, ८५ राष्ट्रहरुमा लगभग ९५,००० बिद्यार्थीहरु एक्सेस कार्यक्रममा सहभागी भईसकेका छन ।

###