काठमाडौँ । नेपालस्थित अमेरिकी दूतावासले लोकतन्त्र शिखर सम्मेलनको पूर्वसन्ध्यामा आज एक कार्यक्रमको आयोजना गरेको छ । मङ्सिर २३-२४ मा आयोजना हुने उक्त शिखर सम्मेलन एक विश्वव्यापी भर्चुअल सम्मेलन हो जसले लोकतान्त्रिक नवीनीकरणका लागि स्वीकारात्मक एजेन्डा तय गर्न सरकार, नागरिक समाज र निजी क्षेत्रका नेतृत्वलाई एकै ठाउँमा ल्याउने छ ।
उक्त कार्यक्रममा नेपालका लागि अमेरिकी राजदूत र्यान्डी बेरी, युएसएआइडीका नियोग प्रमुख सेपिडे केभानशाड, नेपाली नेतृत्वकर्ता, अधिकारकर्मी, नागरिक समाजका सदस्य र युवा अभियन्ताहरूले सामाजिक, राजनीतिक र आर्थिक समावेशीकरणका साथै लोकतान्त्रिक मुलुकहरूका अवसर र चुनौतीबारे चर्चा गर्नुभयो ।
कार्यक्रमलाई सम्बोधन गर्दै राजदूत बेरीले हालैका वर्षहरूमा नेपालले हासिल गरेका उपलब्धिमाथि प्रकाश पार्दै भन्नुभयो, “नेपाल धेरै अर्थमा यस क्षेत्र र विश्वकै निम्ति एउटा नमुनाको रूपमा रहेको छ । विगतको १५ वर्षभित्र नेपाल हिंसात्मक माओवादी द्वन्द्व, त्यसपछिको शान्ति प्रक्रिया, लोकतान्त्रिक शासनको पुनरागमन र नेपाललाई धर्मनिरपेक्ष, लोकतान्त्रिक र सङ्घीय व्यवस्थाको रूपमा परिभाषित गर्ने संविधानको अनुमोदन हुँदै अघि बढेको छ ।“ राजदूत बेरीले संयुक्त राज्य अमेरिकाको लोकतन्त्रको शक्तिको परीक्षण र पुनः पुष्टि गरेका ऐतिहासिक र हालसालका घटनाहरूका बारेमा पनि चर्चा गर्नुभयो ।
अमेरिकी राष्ट्रपति जो बाइडेनले मानवअधिकार दिवस पहिलो लोकतन्त्र शिखर सम्मेलनको आयोजना गरेर मनाउनु हुनेछ । यो शिखर सम्मेलन लोकतान्त्रिक देशहरूका यी तीन स्तम्भ र साझा मूल्यहरूमा केन्द्रित हुनेछ : भ्रष्टाचारविरुद्ध लडाइँ, अधिनायकवादको प्रतिकार र मानव अधिकारको प्रवर्द्धन । राष्ट्रपति बाइडेनको निमन्त्रणामा नेपालको प्रतिनिधित्व प्रधानमन्त्री शेरबहादुर देउवाले गर्नुहुनेछ ।
यस शिखर सम्मेलन लोकतन्त्रको उत्थानशीलता र चुनौतीहरूलाई सम्बोधन गर्न सन् २०२२ भरि हुने कार्यक्रमहरूको शृङ्खलाको एक हिस्सा हुनेछ ।