भ्रष्टाचार विरुद्धको अन्तर्राष्ट्रिय दिवसका अवसरमा अमेरिकी दूतावासको वक्तव्य

२०७४ मङ्‌सिर २२

नेपाल आफ्नो ऐतिहासिक प्रादेशिक र संसदीय निर्वाचनपछि मतपरिणामको हिसाबकिताबमा व्यस्त रहँदै गरेको र देशको नयाँ संघीय शासन प्रणालीमा हजारौँ स्थानीय सरकारी अधिकारीहरू समाहित हुँदै गरेको यो बेला नेपालका नागरिक र नेतृत्वकर्ताले भ्रष्टाचारविरुद्ध निडर अडान लिने तथा देशलाई आफूमा निहित रहेको अथाह क्षमताको आभास दिलाउने उपयुक्त समय पनि हो । नेपालमा विशाल आर्थिक र विकासका सम्भावनाहरू रहेका छन् र यहाँका नागरिकले ती सम्भावना सुशासनमार्फत पुरा हुनेछन् भन्ने वास्तविक र मनासिब अपेक्षा लिएका छन् ।

संयुक्त राज्य अमेरिका नेपालका सम्भावनाहरूमा विश्‍वास गर्दछ । हामीले प्रदान गर्ने वार्षिक १२ करोड  डलरभन्दा बढीको विकास सहयोग पनि सबल सरकारी निकायहरू, समावेशी समुदायहरू, उत्तरदायी सामाजिक सेवाहरू र जीवन्त अर्थतन्त्रलाई बढावा दिने उद्देश्यले सञ्‍चालित छ । यो कुनै परोपकारी काम होइन, बरु एउटा साझेदारमा हामीले गरेको लगानी हो, जसको सफलताको हामी परिकल्पना गर्न सक्छौँ ।

हामी नेपालका ती नेतृत्वकर्ता र नागरिकहरूलाई समर्थन गर्दछौँ जो अब गठन हुने नयाँ सरकारी संरचनाहरूमा भ्रष्टाचारको अन्त्य हुनुपर्ने आवाज उठाइरहनुभएको छ, जो “भयो, पुग्यो, हाम्रो समयमा हुन दिन्नौँ” भनिरहनुभएको छ । सरकारी निर्णय प्रक्रियामा पारदर्शिता वृद्धि गर्ने, भ्रष्ट अधिकारीहरूमाथि मुद्दा चलाउने, अन्तर्राष्ट्रिय “ओपेन गभर्मेन्ट” साझेदारीमा सहभागी हुने, मजबुत प्रेस र छरितो अनुसन्धानमूलक पत्रकारितालाई सहयोग गर्ने तथा नागरिक समाजलाई फस्टाउन दिने लगायतका कामहरू गरेर नेपालको नेतृत्वले समापनको क्रममा रहेको राज्यको पुनर्संरचनाप्रति जनभरोसा र जनसमर्थन वृद्धि गर्नसक्छ । भ्रष्टाचार विरुद्धको अन्तर्राष्ट्रिय दिवस संयोगले नेपालको रूपान्तरणको यात्रामा कोशेढुङ्गाको रूपमा रहेका निर्वाचनहरू समापन हुँदै गरेका दिनहरूमै परेको छ । सही अर्थको राजनीतिक रूपान्तरण र दण्डहीनता तथा भ्रष्टाचारको संस्कृतिको अन्त्यका लागि नेपाली जनताले आह्वान गरिरहेको यस शुभ समयमा अमेरिका उहाँहरूको साथमा छ ।

###