अमेरिकी सरकारद्वारा केशर महल तथा चार नारायण मन्दिरको जीर्णोद्धारमा सहयोग

२०७४ साउन २७

अमेरिकी सरकारको सांस्कृतिक संरक्षणसम्बन्धी राजदूत कोष (एएफसीपी) कार्यक्रमअन्तर्गत यस वर्ष इम्प्याक्ट फाउन्डेशन तथा काठमाडौँ उपत्यका संरक्षण कोषलाई विश्‍वव्यापी प्रतिस्पर्धामार्फत परियोजना सञ्‍चालनका लागि छनोट गरिएको घोषणा गर्न पाउँदा अमेरिकी दूतावासलाई खुशी लागेको छ । केशर महलको दक्षिणी खण्डको जीर्णोद्धारका लागि इम्प्याक्ट फाउन्डेशनलाई र पाटन दरबार क्षेत्रस्थित चार नारायण मन्दिरको जीर्णोद्धारका काठमाडौँ उपत्यका संरक्षण कोषलाई अनुदान रकम प्रदान गरिने भएको छ ।

भूकम्पबाट क्षति भएको केशर महलको दक्षिणी खण्डको संरक्षण तथा जीर्णोद्धारका लागि अमेरिकी दूतावासले एएफसीपी कार्यक्रमअन्तर्गत इम्प्याक्ट फाउन्डेशनलाई ४ लाख अमेरिकी डलर उपलब्ध गराउने भएको छ । सन् १८९५ मा निर्मित नवशास्त्रीय राणा शैलीको यस भवनलाई परियोजनाले स्थिर र भूकम्प प्रतिरोधी बनाउनुका साथै त्यसको मर्मतका लागि अत्यावश्यक जीर्णोद्धार कार्यलाई सहयोग गर्नेछ । यस वर्षको दोस्रो एएफसीपी परियोजनाअन्तर्गत पाटन दरबार क्षेत्रस्थित ऐतिहासिक मल्लकालीन चार नारायण मन्दिरको जीर्णोद्धारको सहयोगार्थ १ लाख अमेरिकी डलर प्रदान गरिनेछ । काठमाडौँ उपत्यका संरक्षण कोषको पञ्‍चवर्षीय भूकम्प प्रतिकार्य अभियानको हिस्साको रूपमा रहने उक्त परियोजनाले सर्वोत्तम अन्तर्राष्ट्रिय मापदण्ड तथा भूकम्पीय प्रबलीकरण अपनाउँदै नेपालका मूल्यवान ऐतिहासिक कलाकृतिमध्येको एक महत्त्वपूर्ण संरचनाको जीर्णोद्धार गर्नेछ ।

“हाम्रा दुई देशबीच कूटनीतिक सम्बन्ध स्थापना भएको ७०औँ वर्ष मनाउँदै गर्दा नेपालको सांस्कृतिक सम्पदाको संरक्षणका लागि प्रदान गर्न लागिएको यस सहयोगले संयुक्त राज्य अमेरिका र नेपालबीचको चिरस्थायी मित्रता प्रदर्शन गर्दछ,” कार्यवाहक राजदूत माइकल गोन्जालेसले भन्नुभयो । “नेपालको अनुपम र अद्वितीय सांस्कृतिक सम्पदाको संरक्षणप्रति संयुक्त राज्य अमेरिका प्रतिबद्ध छ । २०७२ सालको भूकम्पबाट क्षति पुगेका ऐतिहासिक रूपमा महत्त्वपूर्ण नवशास्त्रीय भवनहरूको संरक्षणका लागि गद्दी बैठक र केशर पुस्तकालय जस्ता भवनको जीर्णोद्धार अपरिहार्य छ । अमेरिकी सहयोगमार्फत सेप्टेम्बर २०१६ देखि नै गद्दी बैठकको जीर्णोद्धार कार्य सुरु गरिसकिएको छ ।”

अमेरिकी कंग्रेसद्वारा स्थापित र अमेरिकी विदेश मन्त्रालयद्वारा सञ्‍चालित एएफसीपी कार्यक्रमले सन् २००१ देखि सांस्कृतिक स्थल, सांस्कृतिक वस्तु र परम्परागत सांस्कृतिक अभिव्यक्तिलाई सहयोग गर्दै आएको छ । स्थापनाकालदेखि नै एएफसीपी कार्यक्रमले अन्य देशका सांस्कृतिक सम्पदाप्रतिको अमेरिकाको सम्मान व्यक्त गर्दै आएको छ । कार्यक्रमले हालसम्म १२५ भन्दा बढी मुलुकमा ८०० भन्दा बढी सांस्कृतिक संरक्षणसम्बन्धी परियोजनाहरूलाई सहयोग गरिसकेको छ ।

काठमाडौँमा कार्यरत इम्प्याक्ट फाउन्डेशनले सन् २०१६ मा सफलतापूर्वक सम्पन्न गरिएका पञ्‍चमुखी हनुमान मन्दिर तथा मध्ययुगीन निवास संरक्षण परियोजनाको कार्यान्वयन तथा अभिलेखीकरणमा महत्त्वपूर्ण भूमिका निर्वाह गरेको थियो ।

काठमाडौँ उपत्यका संरक्षण कोष काठमाडौँ उपत्यकाको वास्तुशिल्पीय सम्पदाको संरक्षणप्रति विशुद्ध रूपमा समर्पित एक मात्र अन्तर्राष्ट्रिय संस्था हो । सो कोषले मन्दिर, दरबार र गुम्बा लगायत काठमाडौँ उपत्यकाभरिका ५० भन्दा बढी ऐतिहासिक भवनहरूको जीर्णोद्धार गरिसकेको छ ।

####