अमेरिकी सरकारद्वारा बाह्रबीसे स्वास्थ्य केन्द्रको पुनर्निर्माण योजना सार्वजनिक

२०७३ वैशाख ६                                                                                                                                          

नेपालका लागि अमेरिकी राजदूत अलाइना बी. टेपलेट्ज र स्वास्थ्य मन्त्री रामजनम चौधरीले आज संयुक्त रूपमा नयाँ र भूकम्प-सुरक्षित बाह्रबीसे प्राथमिक स्वास्थ्य केन्द्रको पुनर्निर्माणसम्बन्धी योजना सार्वजनिक गर्नुभएको छ । १९ लाख अमेरिकी डलरको उक्त संयुक्त परियोजनाका लागि आर्थिक सहयोग अमेरिकी अन्तर्राष्ट्रिय विकास नियोग (यूएसआईडी) ले प्रदान गरेको छ भने यूएस आर्मी कोर अफ इन्जिनियर्सले परियोजनाको कार्यान्वयन गर्नेछ । यस सहकार्यमार्फत आर्मी कोरको वास्तुशिल्प र इन्जिनियरिङसम्बन्धी ज्ञान र यूएसआईडीको जनस्वास्थ्यसम्बन्धी दक्षता एकत्रित हुने भएका छन् । परियोजनामा हालका भवनहरू भत्काउने, प्राथमिक स्वास्थ्य केन्द्रको पुनर्निर्माण गर्ने र त्यहाँ पूर्ण रूपमा स्वास्थ्य मन्त्रालयको मापदण्डअनुसारका उपकरण राख्‍ने लगायत छन् । 

“भूकम्प लगत्तै मानवीय सहायतासहित अमेरिकी सरकार नेपालको साथमा थियो र चालु पुनरुत्थान र पुनर्निर्माणका प्रयत्‍नमा पनि हाम्रो सहयोग जारी नै छ । यस नयाँ बाह्रबीसे प्राथमिक स्वास्थ्य केन्द्रले अमेरिकी सरकारको पुनर्निर्माणप्रतिको बलियो प्रतिबद्धताका साथै विपद्‌बाट प्रभावित भएकाहरूका लागि स्वास्थ्य सेवाको पहुँचको सुनिश्‍चितताप्रतिको बलियो प्रतिबद्धता प्रदर्शन गर्दछ,” राजदूत टेपलेट्जले समारोहलाई सम्बोधन गर्ने क्रममा भन्नुभयो । 

अमेरिकी दूतावास र स्वास्थ्य मन्त्रालयले संयुक्त रूपमा बाह्रबीसे प्राथमिक स्वास्थ्य केन्द्रलाई त्यसको विशाल जल-प्रवाह क्षेत्रका आधारमा पुनर्निर्माणका लागि उच्च प्राथमिकता स्थलका रूपमा पहिचान गरेका हुन् । पुनर्निर्माण भइसकेपछि १० शय्याको यस स्वास्थ्य केन्द्रले अन्दाजी १ लाख १२ हजार मानिसलाई मातृ तथा शिशु स्वास्थ्य सेवा जस्ता सम्पूर्ण स्वास्थ्य सुविधा उपलब्ध गराउनेछ र प्रति महिना झन्डै ४ हजार बिरामीहरूको सेवा गर्नेछ । साथै, नेपाल सरकारले जग्गा उपलब्ध गराएको छ र स्वास्थ्य केन्द्रमा पूर्ण रूपमा तालिमप्राप्‍त स्वास्थ्यकर्मी कर्मचारीको व्यवस्था गर्ने प्रतिबद्धता व्यक्त गरेको छ । 

###