अमेरिकाद्वारा भूकम्प प्रभावित जिल्लामा १५ विद्यालयको पुनर्निर्माण सुरु

२०७४ वैशाख ११

काभ्रेपलान्चोक – अमेरिकी सरकारले आफ्नो सहयोगमा पुनर्निर्माण हुन गइरहेका सात नयाँ स्थायी विद्यालय भवनमध्ये पहिलो विद्यालयको पुनर्निर्माण कार्यको उद्‍घाटन गरेको छ । यी सात विद्यालयहरूको पुनर्निर्माण परियोजना अमेरिकी सरकारद्वारा प्रदान १ करोड अमेरिकी डलर सहयोग अन्तर्गतको पहिलो चरण हो । उक्त सहयोग अन्तर्गत राष्ट्रिय पुनर्निर्माण प्राधिकरण, शिक्षा मन्त्रालय तथा एसियाली विकास बैंकसँगको साझेदारीमा २०७२ सालको भूकम्पबाट सबैभन्दा प्रभावित १४ जिल्लाका १५ प्राथमिक तथा माध्यमिक विद्यालयहरूको पुनर्निर्माण गरिने भएको छ ।

नयाँ विद्यालय भवनहरूको निर्माण सुरक्षित नेपालको पुनर्निर्माणको समर्थनमा एक ठोस कदम हो र यसले नेपाललाई भूकम्पको प्रभावबाट तङ्‍ग्रिने दिशामा सहयोग गर्ने अमेरिकी सरकारको बलियो र दिगो प्रतिबद्धता प्रदर्शन गर्दछ । कार्यक्रमको निर्माण चरणको उद्‌घाटनमा अमेरिकी राजदूत अलाइना बी. टेप्लेट्जलाई राष्ट्रिय पुनर्निर्माण प्राधिकरण, शिक्षा मन्त्रालय तथा एसियाली विकास बैंकका प्रतिनिधिहरूले साथ दिनुभयो ।

“यो हाम्रा लागि पहिलेभन्दा बलियो पुनर्निर्माण गर्ने अवसर हो र नेपाली बालबालिकाको जीवन रक्षा गर्नका लागि प्रत्येक विद्यालय भूकम्प प्रतिरोधी हुन जरुरी छ,” राजदूत टेप्लेट्जले भन्नुभयो ।

२०७२ सालको भूकम्पयता संयुक्त राज्य अमेरिकाले भूकम्प प्रतिकार्य तथा पुनरुत्थानका लागि १७ करोड अमेरिकी डलरभन्दा बढी रकम प्रदान गरेको छ । त्यसमध्ये केही रकमबाट घरधनीहरूलाई २,५०० भन्दा बढी सुरक्षित आधुनिक घर निर्माणमा सघाउनुका साथै ८,६०० भन्दा बढी इन्जिनियर, ठेकेदार, आर्किटेक्ट, डकर्मी र सिकर्मीहरूलाई भूकम्प प्रतिरोधी निर्माण विधिसम्बन्धी तालिम दिइएको छ । साथै, अमेरिकी सहयोगबाट १,००० भन्दा बढी अस्थायी सिकाइ केन्द्रको स्थापनामा समेत सहयोग पुगेको छ । सोही सहयोग अन्तर्गत प्रदान गरिएको महत्त्वपूर्ण विद्यालय सामग्रीको मद्दतबाट भूकम्पपछि ९३ हजारभन्दा बढी विद्यार्थीहरू आफ्नो पढाइलाई निरन्तरता दिन समर्थ भएका छन् ।

# # #