अमेरिकी विदेश मन्त्रालयद्वारा मानव बेचबिखनसम्बन्धी वार्षिक प्रतिवेदन सार्वजनिक: नेपालका एन्टी ट्राफिकिङ हिरो सम्मानित

२०७३ असर १७ 

वाशिङ्टन – मानव बेचबिखनसम्बन्धी अमेरिकी विदेश मन्त्रालयको वार्षिक प्रतिवेदन सार्वजनिक गर्न आयोजित समारोहमा विदेशमन्त्री जोन केरीले विश्‍वभर मानव बेचबिखन विरुद्ध सङ्घर्ष गर्नका लागि एकत्रित प्रयत्‍नको आवश्यकतामाथि जोड दिनुभयो । “यो प्रतिवेदन हामीले भोगिरहेको चुनौतीहरूको विस्तृत विश्‍लेषण हो,” केरीले भन्नुभयो । “हामीले चुनौतीहरूलाई कसरी परास्त गर्न सक्छौँ भन्ने कुराको मापन गर्नका लागि यो लक्षित मार्गचित्र हो । यस्ता कहाली लाग्दा घटनाहरूको निराकरणका लागि हामीले सक्दो गर्नुपर्छ र मुलुकहरूलाई आचरणको उच्च र वृहत्तर मापदण्डका खातिर जवाफदेही बनाउनुपर्छ भन्ने सन्देश सहितको यो हामी हरेक जना र विश्‍वका सबै जनाका लागि आह्वान समेत हो ।”

उपरोक्त प्रतिवेदेनले विश्‍वभरका सरकारहरूले आधुनिक दासत्व विरुद्धको सङ्घर्षमा गरेका प्रयत्‍नहरूको मूल्याङ्कन गरेको छ । यस वर्षको प्रतिवेदनले १९० देशलाई समेटेको छ । नेपालले मूल्याङ्कनको दोस्रो तहमै निरन्तरता पाएको छ । न्यूनतम मापदण्डहरूको पूर्ण पालना भई नसकेको तर उक्त मापदण्डको पालनातर्फ उल्लेखनीय प्रयत्‍न गरिरहेको मुलुकका रूपमा नेपालको मूल्याङ्कन भएको छ ।

अमेरिकी विदेश मन्त्रालयको मुख्यालयमा हिजो आयोजित सन् २०१६ को मानव बेचबिखनसम्बन्धी प्रतिवेदन सार्वजनिकीकरण समारोहमा विदेशमन्त्री केरीले भक्तपुर जिल्ला प्रहरी कार्यलय प्रमुख प्रहरी उपरीक्षक किरण बज्राचार्यलाई नेपालका नयाँ एन्टी-ट्राफिकिङ हिरोका रूपमा सम्मानित गर्नुभयो । “मानव बेचबिखन लगायत महिला तथा बालबालिका विरुद्धका अपराधको अनुसन्धान” को क्षेत्रमा उहाँको अनवरत प्रयासका लागि उहाँलाई यो सम्मान दिइएको हो । उक्त प्रतिवेदनले आठ जना एन्टी-ट्राफिकिङ हिरोहरूलाई उहाँहरूले आआफ्नो देशमा मानव बेचबिखन विरुद्धको सङ्घर्षका लागि गरिरहनुभएको प्रयत्‍नको पहिचान गर्दै सम्मानित गरेको छ ।

यस वर्ष प्र.उ. बज्राचार्यलाई नेपालमा मानव बेचबिखनसम्बन्धी मुद्दाहरूको अनुसन्धानमा उहाँको नेतृत्व, जोखिमयुक्त समूहहरूलाई मानव बेचबिखनसम्बन्धी शिक्षा दिने कार्यमा उहाँको समर्पण र बेचबिखनका घटनामा संलग्न सङ्गठित आपराधिक सञ्‍जालका सदस्यहरू विरुद्ध सफलतापूर्वक कार्यवाही गराउनका लागि उहाँको दृढताको पहिचान गर्दै सम्मान गरिएको हो । उहाँले स्थानीय होटल तथा रेष्टुराँहरूमा बेचबिखनका पीडितहरूलाई पहिचान गर्ने प्रयत्‍नको नेतृत्व गर्नुभएको छ; कनिष्ठ अधिकृतहरूका लागि महिला तथा बालबालिका विरुद्धका अपराधको अनुसन्धानसम्बन्धी तालिम निर्देशिका तयार पार्नुभएको छ; र उहाँ मानव अधिकार मापदण्ड, प्रहरी मर्यादा र लैङ्गिक समानतालाई प्रहरीका सम्पूर्ण पाठ्यक्रम र तालिममा समाहित गरेको कुरा सुनिश्‍चित गर्नका निम्ति कार्यरत हुनुहुन्छ ।

सन् २०१३ र २०१५ का बीच प्र.उ. बज्राचार्यले केन्द्रीय अनुसन्धान ब्युरोमा प्रहरी उपरीक्षकका रूपमा कार्यरत रही सङ्गठित अन्तरदेशीय अपराधको अनुसन्धान गर्नुभयो र मानव बेचबिखनसम्बन्धी कम्तीमा १४ वटा मुद्दाहरूलाई अघि बढाउनुभयो, जब कि विगतका वर्षहरूमा एउटा मात्र यस्तो मुद्दा चलेको थियो । यी मुद्दाहरूको फलस्वरूप आपराधिक समूहका १० जनाको पक्राउ लगायत कतिपयको गिरफ्तारी, अभियोजन र अभियोग प्रमाणित भयो । भक्तपुर जिल्ला प्रहरी प्रमुखको उहाँको वर्तमान भूमिकामा प्र.उ. ‍बज्राचार्यले अभिमुखीकरण र जनचेतनाको माध्यमबाट मानव बेचबिखन विरुद्धको नेतृत्वलाई निरन्तरता दिनुका साथै बेचबिखन पीडितलाई ओसारपसार गरिरहेका हुनसक्ने सवारी साधन निरीक्षण गर्नका लागि ठाउँठाउँमा चेकपोइन्टहरू स्थापना गर्नुभएको छ ।

मानव बेचबिखन प्रतिवेदनमा नेपालसम्बन्धी खण्डका लागि : http://www.state.gov/j/tip/rls/tiprpt/countries/2016/258829.htm

###