सन् २०१५ को नेपाल भूकम्पपछिको एक वर्षसम्बन्धी संयुक्त राज्य अमेरिकाको वक्तव्य

२०७३ वैशाख १३

सन् २०१५ को वसन्त ऋतुमा नेपालको मध्यक्षेत्रमा गएको भूकम्पको आज एक वर्ष पूरा भएको छ । त्यस भूकम्पका कारण नेपाल, भारत, चीन तथा बंगलादेशमा गरी ६० लाखभन्दा बढी मानिसहरू प्रभावित भए भने व्यापक क्षति तथा विध्वंस समेत भयो । भूकम्पमा परी ज्यान गुमाउने अन्दाजी ९ हजार तथा घाइते हुने २५ हजारभन्दा बढी मानिसका परिवारजनप्रति हामी पुन: गहिरो दु:ख तथा समवेदना प्रकट गर्न चाहन्छौँ ।

आवश्यकताको घडीमा मद्दत गर्ने धेरै जना नेपाली र अमेरिकीहरूको साहसलाई हामी स्मरण गर्दछौँ । राहतको कार्यका लागि खटिएको यूएच-१वाई हुवे हेलिकप्टर सन् २०१५ को मे १२ मा नेपालको उच्च पहाडी भूभागमा दुर्घटनाग्रस्त हुँदा निधन भएका अमेरिकी मरिनका छ कर्मचारी, नेपाली सेनाका दुई सैनिक र पाँच नेपाली सर्वसाधारणलाई हामी उच्च सम्मानका साथ सम्झन चाहन्छौँ । दुर्घटनामा दिवङ्गत हाम्रा मरिन सैनिकहरू त्यस अमेरिकी प्रयत्‍नमा सरिक थिए जसअन्तर्गत नेपालमा सयौँ टन राहत सामग्री ल्याइयो, आपतमा परेका थुप्रै मानिसहरूलाई उद्धार गरियो र अन्तर्राष्ट्रिय सहयोग कार्यको सहायतार्थ नेपाल सरकार तथा नेपाली सेनासँग सहकार्य गरियो ।

हाम्रो सहयोगको हकमा, अमेरिकी सरकारको प्रयत्‍न नेपालमा विपद् जोखिम न्यूनीकरणको क्षेत्रमा दुई दशकभन्दा लामो हाम्रो लगानीमा निर्भर रह्यो भने भूकम्पयता हामीले राहत र पुनरुत्थानका निम्ति १३ करोड अमेरिकी डलर उपलब्ध गराएका छौँ । भूकम्प गएको केही घण्टाभित्रै एक विपद् सहायता प्रतिकार्य टोली (डार्ट) लाई अमेरिकी सरकारको प्रतिकार्य प्रयत्‍नलाई समन्वय गर्ने, विपद्को मूल्याङ्कन गर्ने र खोज तथा उद्धार क्षमता प्रदान गर्ने गरी नेपालमा खटाइयो । हाम्रो तत्कालको मानवीय सहायतामा खोजी तथा उद्धार कार्य, आपतकालीन आवासको व्यवस्था, पिउने पानी, खाद्यान्न सहयोग र भूकम्प प्रभावितहरूलाई लैङ्गिक हिंसा तथा मानव बेचबिखनबाट संरक्षणका लागि सहयोग लगायत रहेका थिए ।

संयुक्त राज्य अमेरिका नेपाली जनताका साथमा छ । आवास तथा संरचना निर्माण, जीविकोपार्जन तथा खाद्य सुरक्षा, स्वास्थ्य, पानी तथा सरसफाइ, असल शासन र जोखिमयुक्त जनसङ्ख्याको हकमा लैङ्गिक हिंसा तथा मानव बेचबिखनको रोकथाम र त्यसबाट संरक्षण गर्ने क्षेत्रमा नेपालले गरिरहेका प्रयत्‍नहरूप्रति हामी प्रतिबद्ध छौँ ।

थप जानकारीका लागि: https://www.usaid.gov/nepal-earthquake

###