Flag

An official website of the United States government

2 MINUTE READ
जुलाई 12, 2021
अमेरिकाद्वारा नेपाललाई जीवन जोगाउने १५ लाख ३० हजार खोप प्रदान

२०७८ असार २८

आज, जोन्सन एन्ड जोन्सन कोभिड-१९ खोपको १५ लाख ३० हजार मात्रा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आइपुगेको घोषणा गर्न पाउँदा अमेरिकालाई गर्व छ । यस अनुदानले नेपाली जनताप्रति अमेरिकाको दशकौँ पुरानो प्रतिबद्धता पुनः पुष्टि गर्दछ र यो कोभिड-१९ सङ्कटताका नेपालमा जारी हाम्रो सहयोगको निरन्तरता हो । केवल एक मात्रा आवश्यक पर्ने यी खोप अमेरिकी जनताका तर्फबाट नेपाललाई उपहार हुन् र यिनको एकल उद्देश्य जीवन जोगाउनु हो । अमेरिकाद्वारा अनुदानमा दिइएका यी खोप कोभ्याक्स विश्वव्यापी खोप पहल र युनिसेफसँगको साझेदारीमा नेपाली जनतालाई प्रदान हुँदै छन् ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री श्री कृष्णगोपाल श्रेष्ठ उपस्थित आगमन समारोहमा बोल्दै अमेरिकी राजदूत र्‍यान्डी बेरीले भन्नुभयो, “यी खोपले जीवन बचाउने र यस महामारीबाट बाहिर निस्कन नेपाललाई सहयोग गर्ने मात्र नभई आर्थिक नोक्सानीहरूको पूर्ति गर्न र हाम्रा मित्र, परिवारजन, तथा छिमेकीसँग सुरक्षित रूपमा भेट्ने अवसर पुनः प्राप्त गर्न मद्दत गर्नेछन् ।“ यस महामारीको सुरुवातदेखि जारी रहेको कोभिड-१९ सम्बन्धित सहयोगमा अमेरिकाले नेपाललाई झन्डै ७ करोड डलर प्रदान गरिसकेको छ । यसमा अक्सिजन सिलिन्डर, श्वासप्रश्वास उपकरण, कोभिड-१९ परीक्षण, कन्ट्याक्ट ट्रेसिङ, उपचार, व्यक्तिगत सुरक्षात्मक उपकरण र सङ्क्रमण रोकथामका लागि युएसएआइडीद्वारा परिचालित साढे ५ करोड डलर समाविष्ट छ । अमेरिकी रक्षा मन्त्रालयले आइसोलेसन तथा विपद् शिविर, अक्सिजन सिलिन्डर, अक्सिजन कन्सन्ट्रेटर, नन्-इन्भेसिभ ब्रिदिङ र अक्सिजन थेरापी उपकरण, दूरचिकित्सा उपकरण, हात धुने चौकी, र स्वास्थ्य क्लिनिक तथा स्वास्थ्यकर्मीहरूका निम्ति चिकित्सा उपकरण तथा सामाग्रीका लागि ७३ लाख डलरभन्दा बढी प्रदान गरेको छ ।

हामी स्वदेशमा कोभिड-१९ महामारीविरुद्ध लड्दै गर्दा र विश्वभर यस महामारीको अन्त्य गर्न कार्यरत रहँदा, अमेरिका विश्वकै निम्ति खोपको अस्त्रशाला हुनेछ भनी राष्ट्रपति बाइडनले बाचा गर्नुभएको छ । आजको अनुदान उक्त योजनाको हिस्सा हो र यसले अमेरिकाले विश्वमा हाल बाँड्दै गरेको सुरुवाती ८ करोड मात्राका लागि प्राथमिकताका देशहरूमा नेपाललाई समावेश गर्ने राष्ट्रपति बाइडनको प्रतिबद्धता पुरा गरेको छ । ९२ वटा न्यून तथा मध्यम आय भएका देशका निम्ति कोभिड-१९ खोपको खरिद तथा वितरणमा कोभ्याक्सलाई सहयोग गर्न अमेरिकाले ४ अर्ब डलरको बाचा पनि गरेको छ । यस प्रतिबद्धताले सुरक्षित र प्रभावकारी खोपहरूमा न्यायोचित विश्‍वव्यापी पहुँचको पारदर्शी रूपमा सहजीकरण गर्ने हाम्रो प्रतिज्ञा पुरा गर्दै छ । मार्च महिनामा, नेपाल यी खोपहरू प्राप्‍त गर्ने एसियाका पहिला राष्ट्रहरूमध्ये एक थियो ।

# # #