Flag

An official website of the United States government

अमेरिकाद्वारा नेपाललाई अत्यन्त जरुरी कोभिड-१९ सहयोगका निम्ति थप सहायता प्रदान
1 MINUTE READ
अगस्ट 18, 2021

नेपालका लागि अमेरिकी राजदूत र्‍यान्डी डब्ल्यु बेरीले हिजो अमेरिकी अन्तर्राष्ट्रिय विकास नियोग (युएसएआईडी) नेपालकी नियोग प्रमुख सेपिडे केभान्शाडका साथ काठमाडौँस्थित वीर अस्पताल र परोपकार प्रसूति अस्पताललाई दुई वटा तरल अक्सिजन ट्याङ्कको अनुदान प्रदान गर्नुभयो । यी तरल अक्सिजन प्रणालीहरू उक्त अस्पतालका केन्द्रीय अक्सिजन प्रणालीसँग जोडिएका छन् र यिनले अक्सिजनको अविच्छिन्न आपूर्ति गर्ने वा एक घण्टामा ४० लिटर क्षमताका लगभग ४० वटा सिलिन्डर भर्नेछन् । युएसएआईडीको सहयोगमा थप चार वटा तरल अक्सिजन ट्याङ्कहरू देशभरका विभिन्न अस्पतालहरूमा जडान हुँदै छन् ।

हिजो नै अमेरिकाले नेपाललाई युएसएआईडीमार्फत थप १ करोड ५ लाख अमेरिकी डलरको अत्यन्त जरुरी कोभिड-१९ सहायता प्रदान गर्ने घोषणा पनि गरेको छ । सो थप रकम सहायताले पालिकाहरूमा निगरानी तथा कन्ट्याक्ट ट्रेसिङ सुदृढ गर्ने, प्रयोगशाला प्रणालीहरूलाई टेवा पुर्‍याउने र सीमा नाकाहरूमा हुने एन्टिजेन परीक्षणको विस्तार गर्नेछ । उक्त कोषले स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयलाई कोभिड-१९ सम्बन्धी संहिता तथा मार्गदर्शन विकास गर्न, ‘सर्ज’ क्षमता अभिवृद्धिका निम्ति स्वास्थ्यकर्मीहरूको प्रशिक्षण तथा भर्ती गर्न र सघन उपचार सुदृढ गर्न पनि मद्दत गर्नेछ । आफ्ना साझेदारहरूसँग मिलेर युएसएआईडीले कोभिड-१९ का बिरामीहरूलाई आइसोलेसन केन्द्रमा र दूर चिकित्साको माध्यमबाट उनीहरूको घरमा पनि मद्दत गर्दछ, अपाङ्गता भएका मानिसहरूलाई अत्यावश्यक स्वास्थ्य र पुनर्स्थापना सेवाहरूको निरन्तरता सुनिश्चित गर्दछ, र स्थानीय तहका स्वास्थ्य सेवा केन्द्रहरूलाई अन्य आवश्यक सेवाहरूले सुसज्जित गर्दछ ।

उक्त सानो हस्तान्तरण समारोहमा कोभिड-१९ युनिफाइड केन्द्रीय अस्पताल (वीर अस्पताल) का प्रमुख कार्यकारी अधिकृत डा. भूपेन्द्र बस्नेत र परोपकार प्रसूति तथा स्त्रीरोग अस्पतालकी निर्देशक डा. सङ्गीता मिश्रको पनि उपस्थिति थियो ।

यस अतिरिक्त सहायताले अमेरिकी सरकारबाट नेपाललाई प्रदान गरिएको ९ करोड अमेरिकी डलरभन्दा बढीको कोभिड-१९ सम्बन्धी सहयोगमा थप्ने काम गरेको छ जुन सहयोग यो महामारी सुरु भएदेखि जनसङ्ख्याको ६०% भन्दा बढीमा पुगेको छ । यस सहायतामा युएसएआईडीबाट उपलब्ध गराइएको ७.५ करोड अमेरिकी डलरको प्राविधिक तथा जिन्सी सहयोग, जस्तो कि अक्सिजन सिलिन्डर, श्वासप्रश्वास यन्त्र, भेन्टिलेटर, र व्यक्तिगत सुरक्षात्मक उपकरणहरू, समावेश छन् ।

स्वास्थ्य क्षेत्रमा युएसएआईडीको सहयोगले नेपालमा भएका सर्वाधिक चिरस्थायी र सर्वाधिक सफल विकास सहायता कार्यक्रमहरूमध्ये एकलाई दर्साउँछ । पछिल्लो २० वर्षमा मात्र युएसएआईडीले नेपालमा स्वास्थ्य सेवाको गुणस्तर सुधार गर्न ६० करोड अमेरिकी डलरभन्दा बढी लगानी गरेको छ र मातृ तथा शिशु मृत्युदर घटाउन र मलेरिया उन्मुलन गर्न मद्दत गरेको छ ।

रोगहरूको कुनै सिमाना हुँदैन । कोभिड-१९ महामारीको अन्त्य गर्न, यसका विनाशकारी सामाजिक तथा आर्थिक असरहरू न्यूनीकरण गर्न, र भविष्यका प्रकोपहरूमा प्रभावकारी रूपमा प्रतिकार्य गर्न तयार अझ राम्रो विश्वको पुनर्निर्माण गर्न अमेरिका नेपालसँग साझेदारी गर्दै छ ।