काठमाडौँ, नेपाल – कोभिड-१९ विरुद्ध लड्न नेपाललाई अमेरिकी सरकारले फाइजर खोपका थप ६,६४,५६० मात्राको अनुदान प्रदान गर्दै छ । अमेरिकी जनताको उदारता स्वरूप १२ वर्ष र सोभन्दा बढी उमेरका मानिसका निम्ति उपलब्ध गराइएका यी अत्यन्त प्रभावकारी जीवनरक्षक खोप यसै वर्षको अघिल्तिर अमेरिकाले नेपाललाई अनुदानमा दिएका फाइजर खोपका १,००,६२० मात्रा र एकल-मात्राको जोन्सन एन्ड जोन्सन खोपका १५ लाख ३५ हजार खोपमा थपिएका हुन् । यस सहायताले जीवनरक्षक चिकित्सा सामाग्री, तालिम र प्राविधिक सहयोगको रूपमा हालसम्म नेपाललाई उपलब्ध गराइएको १२ करोड २० लाख डलरभन्दा बढीको सहायता (खोपको लागत समावेश नगरी) मा वृद्धि गरेको छ । महामारीको समयमा नेपाललाई अमेरिकाको जारी सहयोगको एक हिस्साको रूपमा अमेरिकाले नि:शुल्क र बिना पूर्व सर्त खोपहरू प्रदान गरिरहेको छ ।
यसका साथै, अमेरिकी अन्तर्राष्ट्रिय विकास नियोग (युएसएआईडी) र युनिसेफले यी खोपहरू तत्काल आवश्यक भएका क्षेत्रहरूमा सुरक्षित र न्यायोचित ढङ्गले वितरण गर्न र मानिसहरूलाई खोप लगाउन प्रोत्साहित गर्नमा नेपालसँग साझेदारी गर्दै छन् । अति कम तापक्रमयुक्त फ्रिजर, वाक-इन फ्रिजर, वाक-इन कोल्ड रुम, फ्रिजर भ्यान, क्रायोजेनिक पन्जा, र चस्माहरू तथा देशभर खोपको ढुवानी गर्दा तिनलाई प्रयोगयोग्य राख्नका निम्ति कोल्ड चेन कायम राख्न प्राविधिक सहयोग उपलब्ध गराउन युएसएआईडीले नेपालसँग निकट रही काम गरेको छ । यसले थप खोपहरू प्राप्त गर्नमा नेपालका विकल्पहरू र क्षमताको वृद्धि गर्नेछ ।
“कोभिड महामारीको समयमा नेपाललाई हाम्रो सहयोग जारी राख्दै जीवनरक्षक फाइजर खोपका यी थप ६,६४,५६० मात्रा नेपाललाई प्रदान गर्न पाउँदा अमेरिकालाई खुसी लागेको छ । हामी खुसी छौँ कि १२ देखि १७ वर्षका बालबालिकाका निम्ति मान्यताप्राप्त यी खोपहरू मूलतः बालबालिकाहरूलाई सुरक्षित र स्वस्थ राख्न प्रयोग गरिने छन्,” युएसएआईडीकी नियोग प्रमुख सेपिडे केभान्शाडले भन्नुभयो ।
महामारीको सुरुवातदेखि नै अमेरिकी सरकारले कोभिड-१९ महामारीसँग लड्न, महत्त्वपूर्ण स्वास्थ्य सेवाहरूको निरन्तरता सुनिश्चित गर्न र महामारीका द्वितीयक सामाजिक र आर्थिक प्रभावहरू – विशेषतः शिक्षा र जीविकोपार्जनमा – न्यूनीकरण गर्नमा नेपाललाई सहयोग गर्न नेपाल सरकारसँग प्रत्यक्ष रूपमा काम गरेको छ ।
अमेरिकाले विश्वव्यापी रूपमा झन्डै १०० विकासोन्मुख देशहरूलाई १.१ अर्बभन्दा बढी खोपहरू प्रदान गर्ने वाचा गरेको छ र ३३ करोडभन्दा बढी खोपका मात्राहरू वितरण गरिसकेको छ । चार अर्ब डलरको योगदान गरेको अमेरिका विश्वव्यापी खोप पहल कोभ्याक्सको सबैभन्दा ठुलो द्विपक्षीय दाता हो ।
अमेरिकी राष्ट्रपति जो बाइडनले कम र निम्न मध्यम आय भएका देशहरू र अफ्रिकी सङ्घलाई एक अर्ब फाइजर खोप प्रदान गर्न, विश्वभरका मानिसलाई खोप लगाउन मद्दत गर्न र यस महामारी विरुद्धको लडाइँलाई उच्च शक्ति प्रदान गर्न अमेरिकी सरकारलाई प्रतिबद्ध गरेका छन् । न्यायसङ्गत वितरणका निम्ति कोभ्याक्समार्फत काम गर्दै यस वर्षको अन्त्यसम्ममा २० करोड मात्रा र बाँकी ८० करोड मात्रा २०२२ मा वितरण गरिनेछन् ।