राष्ट्रिय प्रारम्भिक कक्षा पढाइ कार्यक्रम कार्यान्वयनको सात वर्ष पूरा गरेको उपलक्ष्यमा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय र अमेरिकी अन्तर्राष्ट्रिय विकास नियोग (युएसएआईडी) द्वारा कार्यक्रमको उपलब्धि समीक्षा संयुक्त रूपमा सिंहदरवारमा आयोजना गरियो । नेपालको प्राथमिक तहका विद्यार्थीहरूको पठन सिप विकास गर्न सन् २०१५ मा युएसएआईडी र नेपाल सरकार, शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले सात वर्षे यात्राको आरम्भ गरेको थियो ।
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका सहसचिव डा. हरिप्रसाल लम्सालले बताउनु भयो, “पछिल्ला सात वर्षमा राष्ट्रिय प्रारम्भिक कक्षा पढाइ कार्यक्रमले एकीकृत पाठ्यक्रमको कार्यान्वयन, शिक्षक पेसागत विकास र सहयोग, प्रारम्भिक कक्षाका बालबालिकाहरूको सुदृढ पठन सिपबाट सिकाइ उपलब्धिमा सुधार र प्रारम्भिक कक्षा पढाइ कार्यक्रमलाई दिगो बनाउन स्थानीय तहको शिक्षा योजना तर्जुमा गर्न ठोस सहयोग पुर्याएको छ ।”
“राष्ट्रिय प्रारम्भिक कक्षा पढाइ कार्यक्रमको माध्यमबाट विगत सात वर्षदेखिको नेपाल सरकार र युएसएआईडी बिचको साझेदारीले नेपालका बालबालिकाको प्रारम्भिक कक्षा सिकाइमा –– महामारीको प्रतिकूल समयमा समेत–– ठोस सुधार ल्याएको छ,” युएसएआईडी नेपाल कार्यक्रम निर्देशक श्री सेपिदे केभानशादले बताउनुभयो । “नेपाल सरकार र अमेरिकी सरकारबीचको साझेदारीको ७५ वर्ष पुगेको उपलक्ष्यमा, विद्यालय शिक्षा क्षेत्र योजना २०२१–२०३० मा उल्लेख गरिएअनुसार प्रत्येक बालबालिकाको पढाइ सिपलाई यथार्थ बनाउने मन्त्रालयको लक्ष्य हासिल गर्ने एकीकृत प्रयासमा ठोस सहकार्यलाईे हामी निरन्तरता दिन चाहन्छौँ ।”
सन् १९५० मा कलेज अफ एजुकेशनको स्थापना सँगै संयुक्त राज्य अमेरिकाले नेपालको शिक्षा क्षेत्रमा सहयोगको थालनी गरेको थियो । त्यसबेलादेखि नै अमेरिकी सरकारले नेपाल सरकारसित सहकार्य तथा मुलुकको शिक्षाको गुणस्तर सुधारका निम्ति निरन्तररूपमा सहयोग उपलब्ध गराउँदै आएको छ ।
###