काठमाडौँ : नेपालस्थित अमेरिकी अन्तर्राष्ट्रिय विकास नियोग युएसएआईडीले आज नेपालको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयसँगको साझेदारीमा २ करोड ५० लाख अमेरिकी डलर (करिब ३ अर्ब २७ करोड रुपैयाँ) को बजेटसहितको “स्वास्थ्य क्षेत्रमा प्रत्यक्ष वित्तीय प्रबन्ध परियोजना” को आधिकारिक रूपमा शुभारम्भ गरेको छ । यस परियोजनाले दसौँ लाख नेपालीको स्वास्थ्य सुधारका निम्ति सङ्घीय स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय, कर्णाली प्रदेशको सामाजिक विकास मन्त्रालय र सोही प्रदेशका तीन स्थानीय सरकारहरू (गुराँस गाउँपालिका, वीरेन्द्रनगर नगरपालिका र भेरीगङ्गा नगरपालिका) लाई वित्तीय सहायता प्रदान गर्नेछ ।
यस साझेदारीले नेपाली नागरिकहरूलाई उचित, उत्तरदायी र दिगो स्वास्थ्य सेवा प्रदान गर्न सङ्घीय र उप–राष्ट्रिय तहहरूमा नेपाल सरकारको स्वास्थ्य प्रणालीको सुदृढीकरण गर्नेछ । यसले नेपालीहरूलाई गुणस्तरीय स्वास्थ्य सेवामा समतामूलक पहुँच दिलाउन नेपाल स्वास्थ्य क्षेत्र रणनीतिक योजना २०२२–२०३० का लक्ष्यहरू हासिल गर्न सरकारलाई सहयोग गर्नेछ । यस परियोजनामार्फत युएसएआईडीले विकट भौगोलिक क्षेत्र तथा सीमान्तकृत समुदायहरूमा जीवनयापन गरिरहेका जनताले गुणस्तरीय स्वास्थ्य सेवामा पहुँच पाउने र उनीहरू आकस्मिक अवस्था, तनाव तथा धक्काहरू सम्बन्धी तयारी र प्रतिकार्य गर्न अझ बढी सक्षम भएको सुनिश्चित गर्न नेपाल सरकारसँग सहकार्य गर्नेछ ।
यो साझेदारी नेपालको स्वास्थ्य क्षेत्रमा दशकौँ लामो अमेरिकी सहयोगका साथै कोभिड–१९ महामारीको समयमा नेपाल सरकारलाई मद्दत गर्दाको निकट अनुभवमा आधारित छ ।
नेपालको स्वास्थ्य क्षेत्र र विकासमा सहयोग गर्न अमेरिकी प्रतिबद्ध रहेको छ र युएसएआईडी स्वास्थ्य क्षेत्रमा प्रत्यक्ष वित्तीय प्रबन्ध परियोजना सम्पूर्ण नेपाली नागरिकहरूका निम्ति उचित र सुदृढ स्वास्थ्योपचार सेवा हासिल गर्ने दिशामा एउटा महत्त्वपूर्ण कदम हो ।
###