धनगढी, नेपाल – संयुक्त राज्य अमेरिकाले आज अन्तर्राष्ट्रिय विकास नियोग (युएसएआईडी) मार्फत अन्तर्राष्ट्रिय आप्रवासन सङ्गठन (आईओएम) र नेपाल सरकारसँगको साझेदारीमा ‘सिकाइ’ कार्यक्रमको शुभारम्भ गरेको छ । उक्त कार्यक्रमले पश्चिम नेपालमा विपद् पूर्वतयारी र प्रतिकार्य क्षमताको सुदृढीकरण गर्नेछ ।
‘सिकाइ’ को पूर्ण रूप ‘विपद् जोखिम व्यवस्थापन कार्य तथा कार्यान्वयनमा जुट्न प्रादेशिक र स्थानीय सरकारहरूको संस्थागत ज्ञान र क्षमताको सुदृढीकरण’ हो र यस कार्यक्रममार्फत युएसएआईडीले सुदूर पश्चिम र कर्णाली प्रदेशहरूका प्रादेशिक र स्थानीय सरकारहरूलाई सहयोग उपलब्ध गराउने छ । आईओएमले युएसएआईडी र नेपालका आन्तरिक मामिला तथा कानुन, गृह, र सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयहरूसँगको निकट साझेदारीमा समन्वय र प्राविधिक सहयोग उपलब्ध गराई यस कार्यक्रमको कार्यान्वयन गर्नेछ ।
उक्त नयाँ कार्यक्रमको प्रशंसा गर्दै अमेरिकी राजदूत थम्पसन भन्नुभयो, “यस कार्यक्रमले सङ्घीय नीति, कानुन र संरचनाहरूअनुरूप राष्ट्रियदेखि स्थानीय तहसम्म विपद् पूर्वतयारी र प्रतिकार्यका प्रयासहरूमा नेपाललाई सहयोग गर्ने संयुक्त राज्य अमेरिकाको जारी प्रतिबद्धताको प्रतिनिधित्व गर्दछ ।”
आफ्नो मन्तव्यमा राजदूत थम्पसनको टिप्पणीलाई प्रतिध्वनित गर्दै नेपालस्थित युएसएआईडीकी प्रमुख सेपिडे केभान्शाडले भन्नुभयो, “नेपालका सर्वाधिक विपद्–सङ्कटापन्न मध्येका केही समुदाय रहेका सुदूर पश्चिम र कर्णाली प्रदेशहरूमा ‘सिकाइ’ को ध्यान केन्द्रित हुनुले नेपालका सर्वाधिक सङ्कटापन्न समूहहरूलाई प्राथमिकतामा राख्दै स्थानीय स्तरमा काम गर्ने हाम्रो प्रतिबद्धतालाई चित्रित गर्दछ ।”
कार्यक्रममा बोल्दै आईओएमका कार्यवाहक प्रमुख आसिफ रज्जाकले भन्नुभयो, “सिकाई ले छनौटमा परेका दुई प्रदेशहरूमा संविधान र राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन ऐनले निर्देश गरेबमोजिम विपद् जोखिमसम्बन्धी नियमनलाई सुदृढ बनाउने लक्ष्य लिएको छ ।” उहाँले अगाडि भन्नुभयो, “यस परियोजनाले जलवायु परिवर्तनको परिप्रेक्ष्यमा दिगो विकास लक्ष्यहरू र विपद् जोखिम न्यूनीकरणसम्बन्धी सेन्डाइ फ्रेमवर्क २०१५–२०३० र एउटा उत्थानशील राष्ट्र निर्माण गर्ने बृहत्तर लक्ष्य प्राप्त गर्ने नेपाल सरकारका प्रयासहरूमा थप योगदान पुर्याउनेछ ।”
‘सिकाई’ कार्यक्रमलाई प्राप्त युएसएआईडीको अनुदान रकम ६ लाख अमेरिकी डलर (करिब ७.८ करोड रुपैयाँ) छ भने यसको अवधि १८ महिना रहेको छ । यो नयाँ कार्यक्रम युएसएआईडी र आईओएमको अघिल्लो कार्यक्रम ‘परिवर्तन’ (२०१७–२०२३) को काममा आधारित छ जुन कार्यक्रमले ७५३ वटै स्थानीय सरकारहरूलाई स्रोत–साधन र प्रशिक्षण प्रदान गरी राष्ट्रव्यापी रूपमा विपद् जोखिम न्यूनीकरण र प्रतिकार्य समन्वयमा सहयोग पुर्याएको थियो । विपद्सम्बन्धी जोखिमहरूको न्यूनीकरण गर्न र सहयोगको आवश्यकता भएका नेपालीहरूप्रति तुरुन्तै प्रतिक्रिया जनाउने क्षमतामा सुधार गर्न युएसएआईडीले राष्ट्रिय र स्थानीय सरकारहरूसँग काम गर्दछ ।
###