भिसा

जनवरी ११, २०२१ मा अद्यावधिक गरिएको

नोभल कोरोना भाइरसका सम्बन्धमा भिसा आवेदकहरूलाई सूचना : वर्तमान समयमा काठमाडौँस्थित अमेरिकी दूतावास नियमित भिसा सेवाका लागि बन्द छ । दूतावास आपतकालीन केसहरू र अन्तर्वार्ताको जरुरत नपर्ने सीमित सङ्ख्याका भिसा केसहरूमाथि मात्र प्रक्रिया चलाउन समर्थ छ । त्यसका अतिरिक्त, अमेरिकी नागरिकका मङ्गेतर लगायतका निश्चित निकटतम आफन्त र परिवारका सदस्य र विशेष आप्रवासी भिसाका निश्चित आवेदकहरूलाई प्राथमिकता दिँदै आप्रवासी भिसाका केसहरूलाई सीमित आधारमा शेडुल गरिँदैछ । हामी यथासम्भव चाँडो भिसा सेवा पुनः चालु गर्नेछौँ तर यस बखत निश्चित मिति प्रदान गर्न असमर्थ छौँ । गैरआप्रवासी भिसाका आवेदकका हकमा मेशिन रिडेबल भिसा (एमआरभी) शुल्क मान्य छ र सो खरिद गरिएको देशमा सेप्टेम्बर ३०, २०२२ सम्म भिसा आवेदनका लागि प्रयोग गर्ने सकिनेछ । तपाईँको विषय अत्यन्त जरुरी छ र तुरुन्त भ्रमण गर्नुपर्ने आवश्यकता छ भने आपतकालीन अपोइन्टमेन्टका लागि अनुरोध गर्न support-nepal@ustraveldocs.com मा सम्पर्क गर्नुहोला ।

अमेरिकी अध्यागमन कानुनअन्तर्गत तपाईँलाई कस्तो प्रकारको भिसा आवश्यक छ भन्ने कुरा तपाईँको भ्रमणको उद्देश्य र अन्य तत्त्वहरूले निर्धारण गर्नेछन् । भिसा आवेदकका रूपमा आफूले आवेदन गरेको भिसाको वर्ग प्राप्त गर्नका लागि तपाईँले सबै मापदण्डहरू पुरा गरेको कुरा स्थापित गर्न आवश्यक छ ।

तपाईँको अमेरिका भ्रमण गर्ने उद्देश्यका लागि कुन भिसा वर्ग उपयुक्त होला भन्ने कुरा निर्धारण गर्नका लागि usvisas.state.gov  मा हाम्रो Directory of Visa Categories हेर्नुहोला ।

अमेरिका प्रवेश गर्न चाहने विदेशी नागरिकले सामान्यतया सुरुमा भिसा प्राप्‍त गर्नु पर्दछ । भिसा यात्रुको राहदानीमा जारी गरिन्छ । राहदानी यात्रुको नागरिकता भएको देशबाट जारी गरिने भ्रमण कागजात हो ।

भिसारहित भ्रमणका लागि योग्य निश्‍चित अन्तर्राष्ट्रिय यात्रुहरूले अमेरिकामा भिसाबिना यात्रा गर्न पाउँछन् । यस वेबसाइटको भिसासम्बन्धी खण्ड अमेरिका जान चाहने विदेशी नागरिकका लागि अमेरिकी भिसासँग सम्बन्धित छ ।

(द्रष्टव्य : अमेरिकी नागरिकलाई भ्रमणका लागि अमेरिकी भिसा चाहिँदैन तर विदेश जाने सोच बनाएका अमेरिकी नागरिकका लागि आफू जान चाहने देशको दूतावासद्वारा जारी भिसा आवश्यक हुनसक्छ ।)

ग्राहक सेवा प्रतिनिधिलाई सम्पर्क गर्नका लागि GSS को Contact Us पृष्ठमा जानुहोस् । त्यहाँ पूर्ण जानकारी दिइएको छ । अथवा तल दिइएको जानकारी प्रयोग गरेर ग्राहक सेवा केन्द्रलाई सम्पर्क गर्नुहोस् :

  • टेलिफोन : नेपालबाट १-८००-०९१-०११४ मा फोन गरी सेवा केन्द्रमा सम्पर्क गर्न सकिनेछ । सोमबारदेखि शुक्रबारसम्म बिहान ८ बजेदेखि राति ८ बजेसम्म सम्पर्क राख्‍नुहोला । अमेरिकाबाट (७०३) ९८८-३४२८ मा फोन गरी सेवा केन्द्रमा सम्पर्क गर्न सकिनेछ ।
  • ईमेल : support-nepal@ustraveldocs.com मा ईमेल पठाउनुहोस् । तपाईँको प्रश्‍न आफ्नो केससँग निश्‍चित रूपमा सम्बन्धित छ र कुनै सामान्य सोधपुछ होइन भने मात्र अमेरिकी दूतावासलाई consktm@state.gov मा सम्पर्क गर्नुहोस् ।

संयुक्त राज्य अमेरिकाको सर्वोत्तम संरक्षणका लागि अमेरिकी विदेश मन्त्रालयले भिसा प्रक्रियालाई कडाइका साथ स्वच्छतापूर्वक व्यवस्थापन गर्दछ । अमेरिका सधैँ खुलापनका लागि चिनिँदै आएको छ, जसप्रति हामी पनि समर्पित छौँ । अमेरिकाको भ्रमणलाई स्वागत तथा प्रोत्साहन गरिन्छ ।

हामी भिसा आवेदकप्रति निम्न वचनबद्धता व्यक्त गर्दछौँ :

  • हामी तपाईँप्रति मर्यादित र सम्मानजनक व्यवहार गर्नेछौँ, चाहे हामी तपाईँलाई भिसा जारी गर्न असमर्थ नै किन नहोऔँ ।
  • हामी तपाईँलाई एक व्यक्ति र तपाईँको केसलाई एक पृथक केसका रूपमा हेर्नेछौँ ।
  • तपाईँको लागि भिसा अन्तर्वार्ता नौलो वा अत्यारलाग्दो अनुभव हुनसक्नेछ र तपाईँ नर्भस हुन सक्नुहुनेछ भन्ने कुरा हामी याद गर्नेछौँ ।
  • अन्तर्वार्ताको लागि उपलब्ध सीमित समय प्रयोग गरी हामी तपाईँको भ्रमण योजना र आसयसम्बन्धी सक्दो पूर्ण बुझाइ निर्माण गर्नेछौँ ।
  • हामी आफ्ना उपलब्ध स्रोत प्रयोग गरी सबै आवेदकहरूलाई स्वच्छतापूर्वक अपोइन्टमेन्ट पाउन मद्दत गर्नेछौँ ताकि उनीहरू समयमै व्यवसाय, अध्ययन र अन्य महत्त्वपूर्ण कामका लागि भ्रमण गर्न पाऊन् ।
  • हामी भिसाका लागि योग्यता तथा आवेदन प्रक्रियासम्बन्धी विस्तृत र सही जानकारी हरेक दूतावास तथा कन्सुलेटको वेबसाइटमा राख्‍नेछौँ ।
  • हामी हरेक दूतावास तथा कन्सुलेटको गैरआप्रवासी अपोइन्टमेन्ट वेटिङ टाइमसम्बन्धी जानकारी http://travel.state.gov मार्फत प्रदान गर्नेछौँ ।
  • तपाईँको भिसा अस्वीकृत भयो भने हामी त्यसको कारण बताउनेछौँ ।

साथै, यदि तपाईँ :

  • विद्यार्थी हुनुहुन्छ भने हामी तपाईँलाई अपोइन्टमेन्ट दिलाउन र योग्य भएमा भिसा जारी गर्न हर प्रयत्‍न गर्नेछौँ, जसले गर्दा तपाईँ पढाइका लागि बेलैमा पुग्न सक्नुहुनेछ ।
  • मेडिकल एन्ड ह्युम्यानिटेरियन इमरजेन्सी ट्राभलर (स्वास्थ्य तथा मानवीय आकस्मिकताका कारण भ्रमण गर्ने यात्रु) हुनुहुन्छ भने गम्भीर अवस्थामा हुनेहरूको भिसा ‘केस’ को सन्दर्भमा एक्सपिडाइटेड प्रक्रिया अपनाउनेछौँ ।
  • बिजनेस ट्राभलर (व्यावसायिक यात्रु) हुनुहुन्छ भने हामी व्यावसायिक भ्रमणको सहजीकरणका लागि उपयुक्त संयन्त्रको स्थापना गर्नेछौँ र अमेरिकी व्यवसायसँग विशेष सरोकार राख्‍ने ‘केस’ हरूको सन्दर्भमा एक्सपिडाइटेड प्रक्रिया अपनाउनेछौँ ।

साथै, हामी तपाईँ आवेदकबाट निम्न अपेक्षा राख्दछौँ :

  • आफ्नो भ्रमण र भिसा आवेदनसम्बन्धी योजना जतिसक्दो चाँडो बनाउनुहोस् ।
  • आफ्नो आवेदन पूर्ण र सही तरिकाले पूरा गर्नुहोस् ।
  • आफ्नो उद्देश्य र योजनाका विषयमा प्रष्ट हुनुहोस् ।
  • आफ्नो भ्रमणको आसय छोटकरीमा स्पष्टसँग बताउनसक्ने गरी आफ्नो अन्तर्वार्ताको तयारी गर्नुहोस् ।