गैरआप्रवासी भिसा

२८ डिसेम्बर, २०२० मा  अद्यावधिक गरिएको

  • विद्यमान महामारीको असरका कारण विद्यार्थी तथा पहिलो पटकका पर्यटकका लागि लगायतका नियमित भिसा आवेदन प्रक्रिया सञ्चालन गर्न काठमाडौँस्थित अमेरिकी दूतावास असमर्थ रहेको छ । यद्यपि हाम्रो कन्सुलर शाखाले सीमित सङ्ख्यामा आप्रवासी भिसा, केही भिसा नवीकरण, र सीमित आपत्कालीन अवस्थाहरूमा गैरआप्रवासी भिसाको प्रक्रिया सञ्चालन गरिरहेको छ ।
  • नियमित भिसा सेवाहरू पुनः आरम्भ गर्न र थप भिसा अप्वाइन्टमेन्टहरू खुला गर्न हामी कहिले सक्षम हुनेछौँ भन्ने ’bout हामी अझै अनभिज्ञ छौँ । नियमित भिसा प्रक्रिया सञ्चालन गर्न सुरक्षित भएको यकिन भए लगत्तै हामी सो कार्य गर्नेछौँ ।
  • हाम्रा आवेदक तथा कर्मचारी दुवै सुरक्षित हुने गरी भिसा कारबाही पुनः पूर्ण रूपमा सञ्चालन गर्न र अमेरिका र नेपालबिचको यात्रा सहजीकरण गर्न हामी कार्यरत रहँदै गर्दा तपाईँको धैर्य तथा समझदारीको हामी कदर गर्दछौँ । थप अद्यावधिक जानकारीका लागि कृपया हाम्रा सामाजिक सञ्जालका माध्यम तथा वेबसाइट हेर्दै गर्नुहोस् ।
  • धेरै भिसा आवेदकहरू भिसा आवेदन शुल्क भुक्तान गरी भिसा अप्वाइन्टमेन्टको प्रतीक्षामा रहनुभएको कुरा काठमाडौँस्थित अमेरिकी दूतावासले बुझेको छ । अमेरिकी मिसनले तपाईँले गर्नुभएको भुक्तानी (एमआरभी शुल्क भनिने) को म्याद २०२१ डिसेम्बर ३१ सम्म थप गर्नेछ ।
  • कोही आवेदक आपत्कालीन अवस्थामा हुनुहुन्छ र तत्काल यात्रा गर्नुपर्नेछ भने कृपया यहाँ दिइएको मार्गदर्शनको पालना गर्नुहोस् – https://www.ustraveldocs.com/np/np-niv-expeditedappointment.asp

अस्थायी अवधिका निम्ति संयुक्त राज्य अमेरिका प्रवेश गर्न चाहनेहरूलाई र संयुक्त राज्य अमेरिकामा अनिश्चित कालका लागि वा स्थायी रूपमा बसोबास गर्न चाहनेहरूलाई भिसा सेवा उपलब्ध गराउनका लागि काठमाडौँस्थित अमेरिकी दूतावासको कन्सुलर शाखा जिम्मेवार छ ।

अमेरिकी गैरआप्रवासी भिसाका लागि आवेदन गर्नेसम्बन्धी पूर्ण जानकारीका लागि हाम्रो ग्लोबल सपोर्ट सर्भिसेज (जीएसएस) को वेबसाइटमा जानुहोला, जसमा गैरआप्रवासी भिसाका वर्गहरूको डाइरेक्टोरी समेत समावेश गरिएको छ ।

आवेदकहरूले http://www.ustraveldocs.com/np मा गई अनलाइन माध्यमबाट वा “सोधपुछ” शीर्षकमा दिइएको टेलिफोन नम्बरमार्फत भिसा अन्तर्वार्ताको लागि अपोइन्टमेन्ट बुक गर्न सक्नेछन् । नेपाल इन्भेष्टमेण्ट बैंक लिमिटेडमा शुल्क भुक्तानी गरी बैंकबाट कोड प्राप्‍त गरेपछि मात्र अपोइन्टमेन्ट बुक गर्न सकिन्छ । यो कोड तपाईँको रसिदमा छापिएको हुन्छ र भिसा अपोइन्टमेन्ट लिनका लागि मान्य हुन्छ ।

अपोइन्टमेन्ट निर्धारण गर्ने समयमा तपाईँलाई नेपाल इन्भेष्टमेण्ट बैंक लिमिटेडका नेपालका विभिन्न छ भागमा अवस्थित शाखामध्ये कुनै एक शाखालाई राहदानी सङ्कलन केन्द्रको रूपमा रोज्ने अवसर दिइन्छ । भिसाको लागि स्वीकृत भएको खण्डमा तपाईँले आफ्नो राहदानी र भिसा आफूले रोजेको शाखाबाट १४ दिनभित्र सङ्कलन गर्नुपर्नेछ । एक पटक रोजिसकेको भिसा सङ्कलन केन्द्र पछि परिवर्तन गर्न पाइँदैन । सामान्यतया तपाईँको अन्तर्वार्ता भएको तीन कार्यदिनभित्र भिसा सङ्कलनको लागि तयार हुन्छ ।

गैरआप्रवासी भिसा केससम्बन्धी सोधपुछका लागि आवेदकहरूले nepal@ustraveldocs.com मा सम्पर्क गर्न सक्नेछन् । आवेदकहरूले ग्राहक सेवा केन्द्रमा सम्पर्क गरेर पनि सोधपुछ वा अपोइन्टमेन्ट निर्धारण गर्न सक्नेछन् । त्यसका लागि सोमबारदेखि शुक्रबारसम्म बिहान ८ बजेदेखि राति ८ बजेसम्म १ ८०० ०९१०११४ मा सम्पर्क गर्न सकिन्छ । अमेरिकामा रहेका व्यक्तिहरूले (७०३) ९८८-३४२८ मा सम्पर्क गर्न सक्नेछन् । consktm@state.gov मा पठाइएका प्रश्‍नहरूको जवाफ त्यहाँबाट पाइने भएमा वा अन्यत्र हाम्रा वेबसाइटहरू http://www.ustraveldocs.com/np वा https://np.usembassy.gov/ मा भएमा हामी ई-मेलको प्रत्युत्तर दिने छैनौँ ।

किर्ते कागजात वा जालसाजी भिसा आवेदनसम्बन्धी उजुरीका लागि fraudktm@state.gov मा सम्पर्क गर्नुहोला ।