अमेरिकी सक्‍कर महिला विश्‍वकपका च्याम्पियनहरूद्वारा काठमाडौँ तथा धनगढीमा सशक्तीकरण क्लिनिक सञ्‍चालन

२०७२ चैत २६ 

अमेरिकी राजदूतावासले चैत २० देखि २६ गतेसम्म “फुटबलको माध्यमबाट नेपाली महिला सशक्तीकरण” कार्यक्रम सञ्‍चालन गर्नका लागि खेलकूद दूत लोरी फेयर र ट्रेसी नूननलाई नेपाल ल्याएको छ । ट्रेसी र लोरी सन् १९९९ को विश्‍वकप सक्‍कर च्याम्पियनसीप विजेता अमेरिकी महिला राष्ट्रिय टोलीका सदस्य हुनुहुन्थ्यो ।

आफ्नो कार्यक्रम अवधिमा अमेरिकी खेलकूद दूतहरूले काठमाडौँ तथा कैलालीको धनगढीमा फुटबल क्लिनिक, सामुदायिक आउटरिच क्रियाकलाप तथा स्क्रिमेज (मुक्‍कामुक्‍की) आयोजना गर्नुभयो । काठमाडौँमा मात्रै दूतहरूले नेतृत्व तथा समूह निर्माण अभ्यास मार्फत तीन सयभन्दा बढी युवाहरूलाई प्रेरित गर्नुभयो, जसमा मुख्य गरी महिला खेलाडीहरू रहेका छन् ।

“खेलकूदले हामीलाई सामूहिक कार्य, लक्ष्य निर्माण, कार्यसम्पादन उत्कृष्टता र अन्य उपलब्धिउन्मुख व्यवहारको विषयमा सिक्न सघाउँछ, जुन सफलताका लागि आवश्यक महत्त्वपूर्ण सीपहरू हुन्,” अमेरिकी राजदूत अलाइना टेपलेट्जले कार्यक्रममा भन्नुभयो । “हामीलाई नेपालमा बढी किशोरीहरूले खेलकूदमा भाग लिएको र धेरै युवा नेतृहरूले आफ्नो समुदाय सुधार गर्न सघाएको देख्‍न मन छ ।”

खेलकूद दूतहरूले कैलालीको फूलबारी गाविसमा यूएसएआईडीको आर्थिक सहयोगमा सञ्‍चालित साझा बुझाइका लागि सामुदायिक पहल (शिशु) परियोजनाका साथै धनगढीस्थित अमेरिकन कर्नर (अमेरिकी पुस्तकालय) को भ्रमण गर्नुभयो ।

नेतृत्वको महत्त्व तथा विविधताका लागि सम्मानसम्बन्धी संवादमा युवालाई संलग्न गराउने कार्यक्रमको नेतृत्व गर्ने हेतुले विश्‍वभर भ्रमण गर्ने खेलाडी तथा प्रशिक्षक नै खेलकूद दूत हुन् । स्पोर्ट्स युनाइटेडले अमेरिकी ओलम्पिक कमिटी, अमेरिकी खेलकूद संघ तथा व्यावासायिक लिगहरूसँग सहकार्य गर्दै खेलकूद दूतसम्बन्धी कार्यक्रमहरूको व्यवस्थापन गर्दछ ।

###