वैदेशिक सहायतासम्बन्धी कठिन प्रश्‍न अवश्य सोधौँ

अमेरिकी राजदूत अलाइना बी. टेपलेट्ज

आगामी पाँच वर्षमा अमेरिका नेपालको सफलतातर्फ रु. १२० अर्बभन्दा बढी लगानी गर्ने स्थानमा छ । यस वैदेशिक सहायतालाई नेपाल सरकारसँगको सहकार्यमा तर्जुमा गरिएको हो र यसले नेपाली प्राथमिकता तथा रणनीतिहरूलाई समर्थन गर्नेछ । यसले जनताका निम्ति प्रतिफल दिनेछ र यो ऋण नभई अनुदानको रूपमा आउनेछ । तसर्थ, नेपाल सरकार र नेपाली जनताले विदेशी लगानीको विषयमा प्रश्‍न सोध्नु ठीक हो । म तपाईँहरूलाई अमेरिकी सरकारका कार्यपद्धतिसम्बन्धी केही जानकारी दिन चाहन्छु, ’cause नेपालीहरूले थाहा पाउन आवश्यक छ । मूलत: हाम्रो कार्यपद्धति निम्न कुरासँग सम्बन्धित छ : १) उद्देश्य – हाम्रा लागि त्यो उद्देश्य सशक्त, स्थिर, समृद्ध र सार्वभौम नेपाललाई समर्थन गर्नु हो; २) वास्तविक आवश्यकतामाथि जोड; ३) गुणस्तरीय कार्यक्रम; ४) स्थानीय स्तरमा संलग्नता; र ५) पारदर्शिता तथा जवाफदेहिता ।

अमेरिकामा परोपकारको राम्रो परम्परा छ । तर अन्तत: हामी आफ्ना रुचिलाई अगाडि बढाउनकै लागि सहायता प्रदान गर्दछौँ । एसियाको मुटुमा स्थायित्व प्रदान गर्ने समावेशी, लोकतान्त्रिक नेपाल अमेरिकाको रुचिमा छ । जीवन्त नेपाली अर्थतन्त्र अमेरिकाको भरपर्दो व्यापार साझेदार हो । हामी स्वस्थ, शिक्षित तथा खाद्य सुरक्षित जनसङ्ख्यालाई बढावा दिन उद्यत छौँ – जसले यस हिमालय क्षेत्रमा “अमेरिकी सपना” जस्तो पूर्ण आत्मानुभूति सहितको आफ्नै खालको सपना हासिल गर्नेछ । यी उद्देश्यहरूले अमेरिका र नेपाल दुवै देशका विकास लक्ष्यहरूलाई अघि बढाउनेछन् । यी लक्ष्यहरूलाई यथार्थमा परिणत गर्नका लागि हामी एक साझेदारको सफलतामा लगानी गर्न पाउँदा खुशी छौँ । अमेरिकाले ऋण नभई अनुदान सहायता मात्र प्रदान गर्दछ । सफल, सार्वभौम नेपाल त्यस्तो नेपाल हुनुहुँदैन जो अरुको ऋणमा डुबेको छ ।

आफ्ना स्रोतहरूको विषयमा चनाखो हुनु भनेको तिनलाई त्यस्तो ठाउँमा प्रयोग गर्नु हो जहाँ तिनले रकम वितरण गर्ने मात्र नभई वास्तवमै मूल्य अभिवृद्धि गर्दछन् । यही नै हो दाता र साझेदार हुनुबीचको फरक । पक्‍कै पनि विगतमा हामीले भरतपुरदेखि हेटौँडासम्मको सडक निर्माण गर्‍यौँ, नेपालको पहिलो टेलिफोन एक्सचेञ्‍ज स्थापित गर्‍यौँ र भोटेकोशी जलविद्युत् संयन्त्र बनायौँ । र हाम्रो एमसीसी कम्प्याक्ट कार्यक्रमलेले विद्युत्‌ उत्पादनलाई व्यापार तथा उपभोक्तासँग जोड्नका लागि चाँडै नै विद्युत् प्रसारण लाइन प्रदान गर्नेछ । तर धेरैले कङ्‌क्रिट र स्टिल बिछ्याउने काम गर्न सक्दछन् । अमेरिकाले बढ्दो रूपमा निर्माण गरेर होइन तर आफ्नो प्रवर्तन र दक्षता आदानप्रदान गरेर मूल्य प्रदान गर्दछ । ७० वर्षको दौरानमा अमेरिकी सहायताले नेपाललाई औलो उन्मूलन गर्न सघाउनुका साथै सामुदायिक वन उपभोक्ता समूह तथा सामुदायिक स्वास्थ्य स्वयंसेविका जस्ता कार्यक्रम ल्याएको छ, नयाँ कृषि विधिहरूको नमूना थालेको छ र गद्दी बैठकको जीर्णोद्धार गरेको छ । पीसकोर स्वयंसेवकहरूले एउटा सिङ्गै पुस्तालाई अङ्ग्रेजी बोल्न सिकाए भने आजका कार्यक्रमहरूले नयाँ पुस्तालाई बुझ्ने गरी पढ्न सिकाइरहेका छन् । हामीले डकर्मी तथा निर्माण निरीक्षकलाई दिएको तालिमबाट गोरखा भूकम्पपछि नेपालीहरूलाई सुरक्षित पुनर्निर्माण गर्न मद्दत पुगेको छ । एउटा पनि इँटा नबिछ्याई दशकौँदेखिका क्षमता अभिवृद्धि तथा प्राविधिक सहायताले नेपालका धेरै सफलताहरूलाई सघाएका छन् । कुनै पनि मुलुक सफल हुनका लागि त्यहाँ बलियो सरकार भएर मात्र पुग्दैन, सक्षम समाज पनि चाहिन्छ । सिद्धहस्त अन्तर्राष्ट्रिय गैससमार्फत काम गर्दै हामी आफ्नो विश्‍वव्यापी दक्षता आदानप्रदान गर्न सक्षम भएका छौँ – जसले सरकार र नागरिक समाज दुवैको क्षमता अभिवृद्धि गर्दै नेपालको सफलता सुनिश्‍चित गर्दछ । विश्‍वभर सफल साबित उत्कृष्ट अभ्यासहरूलाई यहाँ ल्याई आफ्ना प्रयत्‍नहरूलाई तथ्याङ्क तथा प्रमाणमा आधारित गर्दै र कार्यसम्पादनलाई कडाइका साथ अनुगमन गर्दै हामी गुणस्तरीय कार्यक्रमहरूले प्रतिफल दिन्छन् भन्ने कुरा सुनिश्‍चित गर्दछौँ ।

हामीले सहायता स्वरूप प्रदान गर्ने डलरका निम्ति अमेरिकी करदाताले धेरै मेहनत गरेका छन् । तसर्थ प्रतिफल दीर्घकालीन होऊन् भन्ने हाम्रो अपेक्षा हो । स्थानीय स्वामित्वले झैँ अरु कुनै कुराले पनि दिगोपन सुनिश्‍चित गर्न सक्दैन । त्यस कारण हाम्रा साझा रुचिहरूलाई नेपालका आफ्नै प्राथमिकतासँग युगलबन्दी गर्दै र  प्रभावित समुदायलाई प्रत्यक्ष संलग्न गर्दै अमेरिकी सहायता सुरु हुन्छ । आफ्नै प्रगतिले नेपाललाई एमसीसी कम्प्याक्टका लागि योग्य बनाएपछि हामीले सुरुमा आर्थिक विकासका बाधकहरूसम्बन्धी संयुक्त विश्‍लेषण गर्‍यौँ । विद्युत्‌को पहुँच र उच्च ढुवानी खर्चलाई प्रमुख मुद्दाका रूपमा पहिचान गरेपछि हामीले ऊर्जा मन्त्रालय, यातायात मन्त्रालय र अर्थ मन्त्रालयसँग सहकार्य गर्दै ठूलो आकारको अमेरिकी अनुदानले नेपाल सरकारको विद्युत् प्रसारण र सडक मर्मतसम्भार गुरुयोजनालाई कसरी तीव्रता दिनसक्छ भन्ने विषयमा रणनीति बनायौँ । नेपालले संघीय व्यवस्था लागु गर्दै गर्दा सामुदायिक स्वास्थ्य संस्थाले कुशलतापूर्वक सेवा प्रवाह गर्ने योजनासम्बन्धी सूचना प्रवाहका लागि संवाद सहजीकरण गर्न हाम्रा परियोजनाहरू सक्रियतापूर्वक स्थानीय अधिकारी तथा विभिन्न समुदायसामु पुगेका छन् । हामीले मतदाता शिक्षाका लागि निर्वाचन आयोग र समुदायहरूसँग प्रत्यक्ष काम गरेका छौँ । उदाहरण थुप्रै छन् । आफ्नो काममा हामी स्पष्टसँग अमेरिकी झण्डा प्रदर्शन गर्दछौँ । हामीले प्रदान गरेको सहायता सर्वोत्तम गुणस्तरको हुनेछ भनी समुदायहरूलाई आश्‍वस्त पार्ने चिह्नका रूपमा मात्र हाम्रो झण्डा त्यहाँ अङ्कित भएको होइन । त्यो यस कारण पनि त्यहाँ अङ्कित भएको हो ताकि कार्यान्वयनमा समस्या आएमा ती समुदायले हामीलाई जवाफदेही बनाउन सकून् ।

अमेरिकाका लागि जवाफदेहिता महत्त्वपूर्ण छ । अमेरिकी नागरिकहरू आफूले तिरेको कर कहाँ र कसरी खर्च हुन्छ भन्ने कुरा जान्न चाहन्छन् । हामी अनुगमन तथा मूल्याङ्कनमा निकै धेरै समय बिताउँछौँ । यस प्रयत्‍नले हामीले प्रतिफल हासिल गरिरहेका छौँ भन्ने कुरा प्रमाणित गर्न महत्त्‍वपूर्ण तथ्याङ्क उपलब्ध गराउँछ । यदि हामीले परिणाम हासिल गर्न सकेका छैनौँ भने यसले चाँडोभन्दा चाँडो हामीलाई आफ्नो कार्यपद्धति सच्याउनका लागि संयन्त्र प्रदान गर्दछ । अमेरिकी नागरिकप्रतिको जवाफदेहिता बाहेक नेपालीहरूले पनि आफ्नो देशमा के भइरहेको छ भन्ने कुरा थाहा पाउन आवश्यक छ । यसको समाधान के हो त ? पारदर्शिता ! प्रत्येक वर्ष हामी अमेरिकी कंग्रेस र नेपाल सरकारका वार्षिक सार्वजनिक प्रतिवेदन उपलब्ध गराउँछौँ । त्यति मात्र नभई युएसएआईडीको बजेटसम्बन्धी सम्पूर्ण जानकारी www.foreignassistance.gov मार्फत सार्वजनिक रूपमा उपलब्ध छ । खास गरी https://dec.usaid.gov मा प्रयोगकर्ताहरूका लागि ५० वर्षभन्दा लामो समयदेखिका मूल्याङ्कन र प्रतिवेदनहरू हेर्ने र डाउनलोड गर्ने सुविधा छ । यी वेबसाइटहरू तपाईँहरूकै लागि बनाइएका हुन् । तसर्थ, अवश्य हेर्नुहोला ।

वैदेशिक सहायता कसैका लागि पनि रहस्यको विषय हुनुहुँदैन । दाता खुलस्त भएनन् भने सरकार, सञ्‍चारमाध्यम र जनताले सिधै सोध्नुपर्छ – उनीहरूले के लुकाउन खोजेका हुन् ? त्यस कारण म कठिन प्रश्‍नहरूलाई स्वागत गर्दछु । नागरिकहरूले सोध्नुपर्छ – परियोजना साँच्चै नेपालको हितमा छ ? त्यसले नेपालीलाई रोजगारी वा सीप दिन्छ ? कतै त्यसको कारणले हामीलाई ऋण लाग्ने त होइन ? हो भने कति ऋण ? परियोजना दिगो छ ? समुदाय वा सरकार संलग्न छ ? परियोजना नेपालका राष्ट्रिय प्राथमिकता अनुसारको छ ? यस्ता कठिन प्रश्‍न सोधौँ र सामुदायिक संलग्नताका लागि हठ गरौँ । नेपालीहरूले थाहा पाउन आवश्यक छ !